राजविराज– धर्मगुरु श्रीनिवास आचार्यलाई गोली प्रहार गरिएको घटनाप्रति हिन्दु युवा परिषद् सप्तरीले भर्त्सना गरेको छ।

परिषदका प्रमुख जंगबहादुर सिंहले सोमबार एक प्रेस विज्ञप्ति जारी गरी घटना ‘अमानवीय र निन्दनीय’ भएको भन्दै भर्त्सना गरेका छन्। हिन्दु सन्तमाथि भएको दुःखद घटनाले समस्त सनातन हिन्दु समाजलाई आघात पुुर्‍याएको विज्ञप्तिमा उल्लेख छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

आचार्यमाथि आइतबार बिहान विराटनगरको रामजानकी मन्दिरमा गोली प्रहार भएको थियो। बिहान करिब ३ बजे शौचका लागि निस्किएका बेला उनीमाथि गोली प्रहार भएको थियो। सुनसरीको चकरघट्टी घर भएका आचार्य विराटनगरस्थित रामजानकी मन्दिरमा पुराण वाचनका लागि आएका थिए।

विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार गराइरहेका आचार्य खतरामुक्त रहेको चिकित्सकले बताएका छन्।

आचार्यमाथि गोली प्रहार गरेको आशंकामा प्रहरीले विराटनगर १४ बाट २ जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेको नाम सार्वजनिक गरिएको छैन।

मोरङका एसपी अरुणकुमार बिसीले मंगोललाई हेपेको भन्ने विषयको पर्चा भेटिएकाले घटनामा मंगोल अर्गनाइजेसनको संलग्नता हुनसक्ने आशंका रहेको बताएका छन्।