हेटौंडा — हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले आफ्नी नातिनीलाई आइतबार सामुदायिक विद्यालयमा भर्ना गरेका छन् ।
हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत आफ्नी ४ वर्षीया नातिनी अपेक्षालाई सामुदायिक विद्यालय सिद्धार्थ माविमा आइतबार नर्सरीमा भर्ना गर्दै । तस्बिर : प्रताप
मेयर महत विद्यालयमा आफैं उपस्थित भएर नातिनी अपेक्षा महतलाई नर्सरीमा भर्ना गरेका हुन् । हेटौंडा उपमहानगरपालिका–२ स्थित सिद्धार्थ माध्यमिक विद्यालयमा नातिनीलाई भर्ना गर्दै महतले सामुदायिकतर्फ बालबालिकालाई आकर्षित गर्न आफूले उक्त निर्णय लिएको बताए ।
‘आफ्ना छोराछोरी र नातिनातिना निजी विद्यालयमा पढाउने अनि सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर भएन भनेर कराएर मात्र हुँदैन । उनले भने, ‘आफ्ना सन्तानलाई सामुदायिक विद्यालयमा पढाऔं अनि मात्र शैक्षिक गुणस्तर वृद्धि हुन्छ ।’ समाजका अधिकांश अगुवाका छोराछोरी निजी विद्यालयमा पढाउने प्रवृत्तिले सामुदायिक विद्यालयको शैक्षिक अवस्था कमजोर बनेको महतको ठम्याइ छ ।
उपमहानगरभित्रका सामुदायिक विद्यालयलाई अभिभावकको रोजाइको विद्यालय बनाउन आफू प्रयत्नशील रहेको बताए । ‘नगरभित्रका सबै विद्यालयलाई अंग्रेजी माध्यममा पढाइ सञ्चालन गर्न पत्राचार गरिसकेका छौं,’ उनले भने । सामुदायिक विद्यालयका शिक्षकहरू आफ्नो पेसाप्रति इमानदार भए निजीको भन्दा गुणस्तर राम्रो हुने उनको तर्क छ ।
२०३२ सालमा स्थापना भएको सिद्धार्थ माध्यमिक विद्यालयमा १ हजार ५ सय ६ विद्यार्थी अध्ययनरत छन् । विद्यालयले कक्षा ३ सम्म अध्ययन गर्ने बालबालिकालाई दिवा खाजा खुवाउने गरेको छ भने ३ कक्षासम्म अंग्रेजी माध्यममा पढाउने गरेको छ । आगामी शैक्षिक सत्रदेखि अन्य कक्षामा पनि अंग्रेजी माध्यमको पढाइ सुरु गर्ने तयारी भइरहेको विद्यालय व्यवस्थापन कमिटीका अध्यक्ष मधु बजगाईंले बताए । कान्तिपुर दैनिक बाट










