काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको तीनदिने भारत भ्रमणले नेपाल-भारत सम्बन्ध नयाँ उचाइमा पुगेको विवेकशील साझा पार्टीले ठहर गरेको छ । नेपालको विकाश र समृद्धिमा महत्वपूर्ण योगदान पुर्याउन सक्ने कृषि, जलमार्ग एवं रेलमार्गका क्षेत्रमा सहयोग विस्तार गर्ने समझदारीलाई उसले स्वागत गरेको छ । साथै प्रधानमन्त्री ओली र नेपाली भ्रमणदलका सबै सदस्यहरूलाई विवेकशील साझाले बधाई दिएको छ । प्रवक्ता डा. सुर्यराज आचार्यले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘स्वदेश फर्केपछिको प्रधानमन्त्रीको वक्तव्यमा उल्लेख भएअनुसार नै यो भ्रमणले नेपाल-भारत सम्बन्धलाई समानताको आधारमा सौहार्दता र पारस्पारिक विश्वासको नयाँ उचाइमा पुर्याएको हामीले पनि ठानेका छौं ।’
समझदारीमा उल्लेख भएका जलमार्ग र रेलमार्गका आयोजनाहरूको प्राविधिक तथा व्यवस्थापकीय पक्ष निर्क्यौल गर्दा नेपालको प्राथमिकता र राष्ट्रिय हितको सुनिश्चितता गर्न विवेकशील साझाले नेपाल सरकारको ध्यानाकर्षण समेत गराएको छ ।
प्रस्तावित रक्सौल-काठमाडौं रेलमार्गको प्राविधिक तयारी र कार्यान्वयनमा सतर्कताका साथ तदारुकता अपनाउन नेपाल सरकारलाई आग्रह गरिएको छ । साथै प्रस्तावित रक्सौल-काठमाडौं रेलमार्गका लागि दीर्घकालीन सोचसहित हाल विश्वमा प्रचलित आधुनिक रेल प्रविधि अपनाउने तर्फ नेपाल सरकारको ध्यानाकर्षण गराइएको छ ।
विवेकशील साझाले नेपाल-भारत सीमा विवाद, सीमा क्षेत्रका भारतीय बाँधले नेपालमा सिर्जित बाढीको समस्या, अलपत्र परेका भारतीय सहयोगमा निर्माणाधीन आयोजना, र भारतसँग नेपालको बढ्दो व्यापार घाटा लगायतका समस्याको यथाशीघ्र समाधानको पहल गर्न आग्रहसमेत गरेको छ ।-------प्रेस विज्ञप्ति--------
भारतको सौहार्दपूर्ण रुपमा सम्पन्न राजकीय भ्रमणको लागि विवेकशील साझा पार्टी सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली भ्रमणदलका सम्पूर्ण सदस्यहरू प्रति हार्दिक बधाई ज्ञापन गर्दछ।
नेपालको विकाश र समृद्धिमा महत्वपूर्ण योगदान पुर्याउन सक्ने कृषि, जलमार्ग एवं रेलमार्गका क्षेत्रमा सहयोग विस्तार गर्ने नेपाल-भारत बिचको समझदारीलाई हामी स्वागत गर्दछौं। जलमार्ग र रेलमार्गका आयोजनाहरूको प्राविधिक र व्यवस्थापकीय पक्ष निर्क्यौल गर्दा नेपालको प्राथमिकता र राष्ट्रिय हितको सुनिश्चितता गर्न नेपाल सरकारको ध्यानाकर्षण गर्न चाहन्छौं।
भारत सरकारको सहयोगमा सञ्चालित पूर्वाधार विकासका आयोजनाको कार्यान्वयनमा बर्षौंको ढिलासुस्तीको तितो यथार्थको पृष्ठभूमिमा काठमाडौं-बिरगंज यातायात कोरिडरको रणनीतिक महत्त्वलाई आत्मसात् गर्दै प्रस्तावित रक्सौल-काठमाडौं रेलमार्गको प्राविधिक तयारी र कार्यान्वयनमा सतर्कताका साथ तदारुकता अपनाउन हामी नेपाल सरकारलाई आग्रह गर्दछौं।
साथै प्रस्तावित रक्सौल-काठमाडौं रेलमार्गका लागि दीर्घकालीन सोच सहित हाल विश्वमा प्रचलित आधुनिक रेल प्रविधि अपनाउने तर्फ नेपाल सरकारको ध्यानाकर्षण गर्न चाहन्छौं।
स्वदेश फर्के पछिको प्रधानमन्त्रीको वक्तव्यमा उल्लेख भए अनुसार नै यो भ्रमणले नेपाल-भारत सम्बन्धलाई समानताको आधारमा सौहार्दता र पारस्पारिक विश्वासको नयाँ उचाइमा पुर्याएको हामीले पनि ठानेका छौं। आपसी सम्बन्धको यस्तो नयाँ परिवेशमा नेपाल-भारत सीमा विवाद, सीमा क्षेत्रका भारतीय बाँधले नेपालमा सिर्जित बाढीको समस्या, अलपत्र परेका भारतीय सहयोगमा निर्माणाधीन आयोजना, र भारतसँग नेपालको बढ्दो व्यापार घाटा लगायतका समस्याको यथाशीघ्र समाधानार्थ विशेष पहल गर्न विवेकशील साझा पार्टी नेपाल सरकारलाई हार्दिक आग्रह गर्दछ। ........................
डा. सूर्यराज आचार्य प्रवक्ता विवेकशील साझा पार्टी मिति: २०७४/१२/२६











