कैलालीको धनगढीमा तस्करहरुले थापेको एम्बुसमा परेर एक बालकको मृत्यु भएको छ भने तीन बालक घाईते भएका छन् । शिवशक्ति सामुदायिक वन भित्र वन्यजन्तु चोरीतस्करी गर्ने समुहले थापेको विद्युतीय एम्बुसमा परि स्थानिय बाबुराम चौधरीको १२ वर्षीय छोरा अमन चौधरीको घटनास्थलमै मृत्यु भएको हो ।

उनीसँगै एम्बुसमा परेर सोही गाउँका तेजबहादुर खडायतका १३ वर्षीय छोरा अर्जुन, भक्तबहादुर पनेरुका १२ वर्षका छोरा सागर, र कर्णबहादुर कठायतका १२ वर्षका छोरा नविन घाइते भएका थिए । घाइते सागर र अर्जुनको अवस्था चिन्ताजनक छ । आइतवार दुवैजनालाई थप उपचारका लागि काठमाडौं लगिएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

जिल्ला प्रहरी कार्यालय कैलालीका नायब उपरीक्षक बीरबहादुर बुढाले जंगलमा विद्युत पोलबाट तार तानेर करेन्ट विछ्याएका कारण उक्त घटना भएको बताए । ‘बेला गाउँबाट जंगल हुँदै शेहेयरी लगिएको हाइभोल्टेज विद्युतीय लाइनबाट चोरी गरि तानेको तारमा बालकहरु अल्झिन पुग्दा घटना भएको हो’, डीएसपी बुढाले भने । घटनाको अनुसन्धान भइरहेको बुढाले बताए ।