हिजोआज एमाले अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच निकै घनिष्ट सम्बन्ध छ । विगतमा पार्टी सञ्चालनमा गम्भीर असहमति राख्दै आएका नेता नेपालको अहिले ओलीले गरेका हरेक गतिविधिमा दह्रो साथ रहेको छ । नेपाल र ओलीबीचको सम्बन्धलाई लिएर एमालेभित्रै विभिन्न खाले टीकाटिप्पणी सुरु हुन थालेको छ ।
नेता नेपाल एमालेको वैदेशिक विभाग प्रमुखसमेत हुन् । उनी अहिले चीनको राजधानी बेइजिङमा छन् । चारदिने भ्रमणका लागि चीन उडेका नेता प्रधानमन्त्री केपी ओलीकै सल्लाहमा गएको स्रोतले बताएको छ ।
बोआओ सम्मेलनकै बेला भारतले आफ्नो देशको भ्रमण गराएपछि ओली सो सम्मेलनमा सहभागी हुनबाट वञ्चित रहेका थिए । विगत लामो समयदेखि नेपालले बोआओ सम्मेलनमा सहभागिता जनाउँदै आएको छ । तर, यस वर्ष नेपालको सहभागिता शून्य रह्यो ।
प्रधानमन्त्री भएपछि ओलीले पहिलोपटक चीनको भ्रमण गर्ने तयारी सुरु गरेका थिए । ओलीको सो तयारी सरकारमै रहेका एक मन्त्रीले भारतलाई चुहाएपछि हतार हतार भारतले ओलीको भ्रमणको मिति तय गरेर नयाँ दिल्लीमा अल्झाएर राखेको थियो । आफू दिल्लीमै रहेपछि ओलीले पार्टीका वरिष्ठ नेता नेपाललाई बेइजिङ पठाएको एक एमाले नेताले बताए । चार दिनसम्म बेइजिङमा रहँदा नेपालले क–कसलाई भेट्दै छन् ? भन्नेबारे कुनै जानकारी गराइएको छैन ।
नेपाल पूर्वप्रधानमन्त्रीसमेत हुन् । एउटा देशको पूर्वप्रधानमन्त्री किन आफ्नो देशको भ्रमणमा आउँदैछन् भन्नेबारे चिनियाँ पक्षसमेत जानकार छैन । ओलीले बोआओ सम्मेलनमा आफू आउन नपाएको तथा निर्वासित तिब्बती धर्मगुरु दलाई लामाका मुख्य व्यक्तिलाई भेटेको विषयमा चिनियाँ पक्ष रुष्ट भएपछि सम्बन्ध सुधार गर्न नेता नेपाललाई बेइजिङ पठाइएको बुझिएको छ । मिडियाएनपी डट कम बाट










