कुमार खतिवडा

२०७४ चैत २४ गते शनिबार १२ बजे अपरान्हको स्थानीय समयमा फ्लाई दुबईको उडान संख्या एफ जेड ५७५ को करिब १८० यात्रु क्षमता भएको बोईङ ७३७-८०० विमानले दुबईबाट काठमाडौं उडान भर्‍यो।

यो जाहाजमा अन्य मुलुकबाट दुबई ट्रान्जीटहुँदै काठमाडौं आउने थोरै मात्र बिदेशी नागरिक देखिन्थे। अन्य यात्रु पनि नेपाली नै थिए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

करिब ३० मिनेटको उडान पश्चात जहाज क्रुज मोडमा आएपछि यात्रुहरू शौचालय प्रयोग गर्न उठ्न थाले ।

यही समयमा ट्रान्जीट यात्रुका लागि उडान कर्मचारीले जलपान सेवा वितरण शुरू गरेकोले जहाजको प्यासेजमा घुईँचो भईसकेको थियो।

जहाजका कप्तानले उद्घोष गरे-काठमाडौं विमानस्थल एक टिपिकल विमानस्थल हो। डिआईसी एरर भएकोले हामी अहिले त्यसतर्फ जान असमर्थ छौं। दुबई विमानस्थलमा भर्खरै सम्पर्क भए अनुसार हामीलाई फर्कन अनुरोध गरेको छ, अब हामी दुबई नै फर्किन्छौं। दुबई फर्कन हामीलाई अब ३५ मिनेट समय लाग्नेछ। धैर्यता गर्न हुन र आ-आफ्नो सिटमा फर्कन सबैलाई अनुरोध छ।’

कप्तानको यो उद्घोष पश्चात उडान दलका कर्मचारी जलपान वितरण रोकेर सबैलाई सिटमा फर्काउन थाले ।

डिआईसीको अर्थ थाहा नभएकोले काठमाडौंको मौसमका कारण फिर्ता लान खोजेको होला भन्ने अनुमान गरियो।

मेरो सिटको केही अघि बसेकी एक जना बिदेशी महिलाले क्याबिन क्रुलाई बोलाईन्। झोलाबाट युरो टिभी लेखेको आफ्नो परिचय पत्र देखाएर निकै केरकार गरिन्।

तिनीहरूको बार्तालापबाट यो मौसमको खराबी नभएर अन्य केही समस्या हो भन्ने मैले अनुमान काटिसकेको थिएँ।

भारतीय मुलका जस्ता देखिने ती कर्मचारीलाई बोलाएर समस्याको बारेमा मैले पनि जानकारी लिन चाहेँ।

उनले भने- दीस ईज ए स्मल प्रोब्लम अन एयरक्राफ्ट। नो निड टु वरी सर, वी वील बी ल्यान्डिङ् सर्टली अन दुबाई एयरपोर्ट।

मैले पुनः प्रश्न तेर्स्याएँ-ह्याभ यू एभर एक्पेरिएन्सड् सच कन्डिसन्?

मेरो प्रश्नमा यस्तो अवस्थामा सकुशल अवतरण हुन्छ कि हुँदैन भन्ने गम्भीर कुरा लुकेको थियो ।

उनले हल्का मुस्कानका साथ भने: नो सर! बट आई स्टील एस्योर्ड यू, ईट्स नट अ बिग ईस्यू।’

जे होस्, उसको आश्वासन उसको जागीर होला, नराम्रै भए पनि उसले राम्रै भन्नुपर्छ। बाँचिएछ भने डिआईसीको अर्थको लागि गुगल गरौंला।

उडान भरेको करिब पौने दुई घन्टामा हामी पुनः दुबईको आकाश नजिकै पुगिसकेका थियौं। कप्तानको उद्घोष फेरि आयो, अब जहाज अवतरण हुने भयो भनी हामी सबै ढुक्क भयौं।

कप्तानको अन्तिम वाक्यले अचानक सबै आत्तियौं, एक अर्काको मुखामुख हुन थाल्यो। एयर ट्राफिक कन्ट्रोलरले जाहाजलाई ४५ मिनेट होल्ड गर्ने सूचना दिएको रहेछ।

मनमा अनेक किसिमका कुराहरू खेल्न थाले। मृत्युको नजिक नजिक पुगेको आभाष हुन्छ। भर्खरैको काठमाडौंको युएस बङ्ला दुर्घटनाको दृष्य मानसपटलमा घुम्न थाल्छ।

उक्त जहाजमा हामी विराटनगरबासीहरू राम कुमार श्रेष्ठ, बद्री प्रसाद, रवि थापा, मोहनप्रसाद न्यौपाने, कैलाश रेग्मी गरी सात जना दुबई भ्रमण सकेर नेपाल फर्कने योजनामा थियौ।

साथीहरूको स्थितिको बारेमा जानकारी लिने विचारले पछाडि फर्किएँ।

पछाडिको सिटमा बसेका मोहनजी, कैलाशजी र बद्री दाईको अनुहार मलिन छ। राम दाई निकै पछाडिको सिटमा मलिन अनुहार मै हुनुहुन्छ।

रवीजी अगाडिको सिटमा एक्लै बस्नु भएको छ। यहाँ निश्चीन्त देखिनु भएको छ।

बद्री दाईले रून्चे हाँसोमा जिस्काउँदै हुनुहुन्छ, ७० नाघेका राम दाईलाई के को चिन्ता? फोकटको जीन्दगी हो उहाँ को! केटाहरू पो चिन्तीत हुनुपर्ने।

मेरो छेउमा सुरेश छन्, उनको अनुहार निकै मलिन देख्छु।

राम दाइले फेरि भन्नुभयो: अरूको खासै टेन्सन छैन, सुरेशको पो चिन्ता लाग्यो, उसको केटाकेटी सानै छन्।

मेरो मन पनि निकै डराएको छ ।

बाँचिएछ भने यो अनुभव साटौंला भन्ने सोच आयो।

जहाजले दर्जन भन्दा बढी पटक दुबईको फन्को मारिसक्यो। अब चाही अवतरण गर्ला कि!

मनमा फेरि शंका उत्पन्न हुन्छ। अवतरणमा दुर्घटना पो हुने हो कि?

फेरि आफैं उत्तर भेट्टाएँ- हैन, यो काठमाडौ कहाँ हो र? दुर्घटना भयो कि मरिहाल्ने!

यो त दुबई हो, दुबाई ! यहाँ त जिरो टु र टु जीरोमा कन्फ्यूज हुँदैन होला।

तल ग्राउन्डमा बिभिन्न रेस्क्यू ईक्युपमेन्ट तैनाथ गर्दै होला यो होल्डको टाईममा। साच्चै आपत् आईपरेको हो भने छेउको समुन्द्रमा पनि ल्याण्ड गराउला नि!

उड्नु अगाडि नै वाटर ल्याण्डीङमा लाईफ ज्याकेट लगाउने तरिका सिकाएकै छ त! सुविधा सम्पन्न एयरपोर्टमा ल्याण्ड गर्ने भएकोले आफूलाई चित्त बुझाउने धेरै टिप्स थिए।

फेरि कप्तानले उद्घोष गरे: जहाजको ईन्धन खाली गरेर मात्र अवतरण गर्नुपर्ने भएकोले थप केही बेर होल्ड हुने र यस अबधिभरी धैर्यता गर्न अनुरोध गरे।

छट्पटी झनै बढेर आयो। साच्चै अनिष्ट पो हुने हो कि भनेर।

फेरि चित्त बुझाउने उपाय सोच्न थालेँ।

जीवनको भोग पुरा गरिसकेको ब्यक्ति हिँड्दा हिँड्दै पनि मर्छ, सुतेकै ठाउँमा पनि मर्छ, जुनसूकै अवस्थामा पनि मर्छ, जतिसूकै ठूलो डाक्टरले उपचार गरे पनि मर्छ।

जीवनको भोग बाँकी रहेको ब्यक्ति जहाज दुर्घटनामा पनि बाँच्छ, ठूलै दुर्घटना परेको बेला सामान्य डाक्टरको उपचारले पनि बाँच्छ। यस्ता उदाहरणहरू हामीमाझ प्रसस्तै छन्।

त्यसैले जन्मको समयमै निर्धारण भएको आयुलाई कसैले पनि घटाउन बढाउन सक्दैन। यो आध्यात्मिक विश्वाशलाई दह्रो बनाउनुको अर्को बिकल्प पनि त थिएन।

फेरि मनमनै अर्को प्रश्नले जन्म लियो।

जीवनको भोग पुरा भएको हो वा अझै बाँकी छ?

फेरि कप्तानले ल्याण्डीङको सूचना गरे। जहाज सकुशल उडेको ३ घन्टापछि अवतरण गर्‍यो। कप्तानले सम्पूर्ण यात्रुलाई आपतकालीन समयमा सहयोग एवम् संयमता अपनाएकोमा धन्यवाद दिए।

जीवनको भोगाई बाँकी नै रहेको प्रमाणित पनि भयो।