तस्करीको ३३ किलो सुन काण्डको पछिल्लो अध्ययन्ले उक्त सुन त्रिभुवन विमानस्थलबाटै बाहिरिएको नयाँ तथ्य खुलासा भएको छ ।
फागुन पहिलो साता चुडामणि उप्रेती ‘गोरे’ ले ल्याएको भनिएको ३३ किलो सुन त्रिभुवन विमानस्थलबाटै बाहिरिएको खुलेको घटना अनुसन्धानमा संलग्नहरुले जानकारी दिएका छन् । सोही प्रकरणमा पक्राउ परेकाहरुको बयानका आधारमा उक्त सुन दुबईबाट त्रिभुवन विमानस्थल हुँदै बाहिरिएको र मुख्य तस्करसम्म पुग्न नपाउँदै गायव भएको जनाइएको छ । ३३ किलो सुन तस्करीमा चेनमा जोडिएका ११ जनालाई गृह मन्त्रालयका सह–सचिव इश्वरराज पौडेल नेतृत्वको छानविन समितिले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।
गृह मन्त्रालय स्रोतका अनुसार पक्राउ पर्नेहरुमा राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का नेता भुजुङ गुरुङसहित बालकृष्ण श्रेष्ठ, कपिलराज पुरी, गोपाल कुमार श्रेष्ठ, दोराम खत्री, सम्बिर प्रसाद तोलाङ्गे, हेमन्त गौतम, ‘तक्लु’ भन्ने पुण्यप्रसाद लामा, विरेन्द्रमान श्रेष्ठ, लाल बहादुर मगर, राजु महर्जन र भारतीय नागरिक महाविर गोल्यान रहेका छन् ।
त्रिभुवन विमानस्थलबाट बाहिरिएको ३३ किलो सुन गायव भएसँगै मोरङको उर्लाबारी–७ का सनम शाक्यको हत्या भयो । फागुन १८ गते शाक्यको हत्यासँगै प्रहरीको भुमिकामाथि नै प्रश्न उठाउँदै गृह मन्त्रालयले गठन गरेको सह–सचिव ईश्वरराज पौडेल नेतृत्वको छानविन समितिले विराटनगरमै बसेर घटनाबारे अनुसन्धान गरिरहेको छ ।
पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा राखेर छानविन समितिले अनुसन्धान गरिरहेको छ । सुन तस्करहरुले सनम शाक्यलाई जङ्गलमा यातना दिएर हत्या गरेका थिए । महानगरीय अपराध महाशाखाबाट डिएसपी प्रजित केसीको कमाण्डमा पुर्व गएको प्रहरी टोलीले शाक्यसँगै यातना पाएका उर्लाबारीका–७ का नरेन्द्र कार्की मोहन काफ्ले र स्कोरपियो चालक टेकराज मल्ललाई नियन्त्रणमा लिएको थियो ।
फागुन १९ गते मध्यान्ह विराटनगरको पोखरीबाट शाक्यको शव बरामद गरेपछि महानगरीय अपराध महाशाखाले मृतकसँगै याताना पाएका नरेन्द्र कार्की मोहन काफ्ले र चालक टेकराज मल्ले हत्या गरेको भन्दै प्रेस विज्ञप्ति जारी गरेको थियो । पीडितलाई नै हत्यारा करार गरेको उक्त मुद्दाको स्वरुप अहिले पविरर्तन भईसकेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख (एसपी) अरुण बिसी भन्छन्, ‘सनम शाक्य हत्या प्रकरण संगठित अपराध सहित कर्तब्य ज्यान मुद्धामा म्याद लिएर अनुसन्धान भइरहेको छ ।’
घटनाको अनुसन्धान गर्नका लागि छानविन समितीको संयोजक ईश्वरराज पौडेल, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक हुतराज थापा, नेपाल प्रहरीका एसपी बसन्त लामा र महान्यायाधिवक्ता कार्यालयका उपन्यायाधिवक्ता हरि प्रसाद रेग्मी अहिले बिराटनगरमा रहेका छन् । काठमाडौंबाट पक्राउ परेका ११ जना अभियुक्तलाई समेत बिराटगर लगिएको जिल्ला प्रहरी कार्यालय मोरङका एक अधिकृतले जानकारी दिएका छन् । घटनामा संकास्पद भूमिका देखिएको भन्दै गृह मन्त्रालयको निर्देशनमा प्रहरी प्रधान कार्यालयले अपराध महाशाखाका एसएसपी दिवेश लोहनी, डिएसपी प्रजित केसी र सई बालकृष्ण सञ्जेललाई महाशाखाको जिम्मेवारीबाट हटाइसकेको छ। नया पेज बाट साभार










