काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमणमा सीमा विवादलाई गम्भीरताका साथ उठाएको बताएका छन्।

आइतबार साँझ स्वदेश फर्केलगत्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले भारतसँग कायम रहेका सीमा विवाद र तराईको डुबानबारे भारतीय नेतृत्वसँग गम्भीर रुपमा सम्वाद भएको जानकारी गराएका थिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

‘सीमा सम्बन्धी विवादका कुराहरु हामीले गम्भीरताका साथ उठाएका छौं। छिटोगरी कसरी समाधान गर्न सक्छौं भन्ने कुरा भयो’, उनले भने– ‘पञ्चेश्वर, टनकपुरमा नहर नबनेको जस्ता कुरामा ध्यानाकर्षित गरेका छौं। उहाँहरुले छिट्टै काम हुने र निर्देशन दिइसकेको जानकारी पाए। आज म उत्तराखण्ड पुग्दा मुख्यमन्त्रीले निर्देशन आएको मलाई बताए। हामी सम्वादबाट सम्बन्ध र विवादहरु समाधान गर्न प्रयत्न छौं। सम्पूर्ण विषयमा कुरा गरेका छौं। डुबान, मानव बेचविखन लगायत कुराहरु भएका छन्। सकारात्मक प्रगति भएको छ, तमाम कुरा उठेको छ। अबको बाटो गम्भीर वार्ताको हो।’

आफ्नो भ्रमणमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले काठमाडौं रक्सौल रेल्वेको कुरा गरेको स्मरण गर्दै नदीहरुबाट आवागमन र यातायात प्रबन्धमा सहमति भएको सुनाए। ‘कृषि क्षेत्रमा पनि महत्वपूर्ण समझदारी भएको छ’, उनले भने।

-नागरिक न्यूज बाट साभार