नेपाली कांग्रेस स्थापना भएको आज ६८ वर्ष पुगेको छ । चैत २७ गतेकै दिन २००६ सालमा नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातन्त्र कांग्रेसबीच एकीकरण भएर नेपाली कांग्रेसको स्थापना भएको थियो ।
अहिलेसम्म कांग्रेसले २००७ सालको क्रान्ति, २०३६ सालको जनमतसंग्रह, २०४२ सालको सत्याग्रह, २०४६ सालको प्रजातन्त्र बहालीका लागि आन्दोलन र २०६२÷६३ सालको दोस्रो जनआन्दोलनको नेतृत्व गरेको छ । नेपालमा जति पनि ठूला क्रान्ति र आन्दोलन भएका छन्, ती सबैको नेतृत्व कांग्रेसकै कारण भएको हो ।
कांग्रेस नेतृत्वकै सरकारले संविधानसभामार्फत संविधान जारी गर्ने तथा नयाँ संविधान कार्यान्वयन गर्ने तीन (स्थानीय, प्रदेश र प्रतिनिधिसभा) तहको निर्वाचन सम्पन्न गरेको छ । राजनीतिक परिवर्तन र स्थायित्व कांग्रेस नेतृत्वकै सरकारका पालामा पूरा भएको छ । अब मुलुक आर्थिक समृद्धिको दिशामा अघि बढेको छ । तर, यसको नेतृत्व भने कांग्रेसले पाउन सकेन ।
हालै सम्पन्न स्थानीय, प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस पहिलो पार्टी बन्न भने असफल रह्यो । मुलुकका दुई ठूला कम्युनिस्ट पार्टी वाम गठबन्धन बनाएर चुनावमा गएकाले कांग्रेसले धेरै सिट जित्न सकेन । मिडिया एनपी बाट साभार










