बसन्त गिरी कपिलवस्तु –यशोधरा गाउँपालिका –५ का वडाअध्यक्ष लईस पठान विरुद्ध विभिन्न किर्ते, ठगी, दोहोरो नागरिकता मुद्धामा उजुरी परेपछि अहिले उनी फरार छन् ।
उनी फरार भएपछि वडाको सम्पूर्ण कामकाज प्रभावित भएका छन् ।
नागरिकता सिफारिश, वडाको सामाजिक सुरक्षा वितरण, बार्षिक कार्यक्रम तथा पूर्वाधार निर्माण कार्य रोकिएका छन् । उनी फागुन १९ गते देखि वडा कार्यालयमा आएका छैनन् ।
पारिवारिक श्रोतका अनुसार वडाअध्यक्ष पठान भारतीय सीमावर्ती बजार खुनुवामा बस्दै आएका छन् ।
विभिन्न व्यक्तिसंग अर्कैको जग्गा देखाई वडाअध्यक्ष पठानले १ करोड बढि रकम ठगि गरेको आरोप छ । कसैलाई किर्ते लालपूर्जा दिएर वा कसैलाई ऋणको कागज बनाई उनले ५ जना भन्दा बढि व्यक्ति संग रकम लिएको उनीमाथि आरोप छ ।
पठान १ करोड १३ लाख रुपैयाँ ठगि गरेको, १२ लाख ५० हजारको चेक (अनादर) बाउन्स गरेको तथा भारतीय नागरिक रहेको भन्दै जिल्ला प्रहरी कार्यालय कपिलवस्तु, रुपन्देही र कपिलवस्तु जिल्ला अदालतमा उजुरी तथा मुद्धा परेको छ । उजुरी लगत्तै पठान भारत पसेका छन् ।
मर्यादपुर सीमा क्षेत्र पारीको खुनुवा बजार क्षेत्रमा उनी बस्दै आएको स्थानीय मंगल गुप्ताले जानकारी दिए ।
वड अध्यक्ष पठानले कपिलवस्तु नगरपालिका ५ का इसहार खाँ संग ३२ लाख रुपैयाँ लिएका थिए ।
जेसिभी मेशिन किन्ने भन्दै उनले कागज गरेर ३२ लाख लिएको पीडित इसहारको भनाई छ ।

‘भाका नाघेपछि रकम माग्न जादा दिएन, दिएको चेक समेत बाउन्स भयो’ ऋण लिएको काजग देखाउदै उनले भने । आफुले उनी विरुद्ध जिल्ला प्रहरी कार्यालयमा २०७४ साल साउन १२ गते उजुरी दिएपनि हाल सम्म कारवाही नभएको बताए ।
प्रहरीको दर्ता किताबको दर्ता नंं १०१, १०२ र १०३ मा दोहोरो नागरिकता, लुटपाट तथा ठगि र चेक बाउन्स सम्बन्धी ठाडो उजुरी दर्ता भएको छ । यसै गरि रुपन्देही गैडहवा गाउँपालिका ६ सूर्यपुराका चन्द्रभान बढई संग ३५ लाख रुपैयाँ ठगि गरेको उजुरी समेत परेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा फागुन १३ गते वडा अध्यक्ष पठान विरुद्ध ठाडो उजुरी दर्ता भएको छ ।
दर्ता नं.१२२ मा दर्ता गरिएको उजुरीमा पठानले यशोधरा गाउँपालिका ५ कचरीहवामा ३ विगहा पक्की जग्गा देखाएर नक्कली लालपूर्जा बनाई ३५ लाख लिएर गएको र हाल सम्म बेपत्ता भएको उल्लेख छ । पीडित चन्द्रभान बढईले पटक–पटक वडा अध्यक्ष संग रकम माग गर्न आउदा विभिन्न धम्की समेत दिने गरेको उनले जानकारी दिए ।
विभिन्न उजुरी तथा मुद्धा परेर वडा अध्यक्ष फरार भएपछि अहिले वडाको सम्पूर्ण विकासे काम ठप्प भएको छ । वडा सदस्य अजय कुमार मिश्राले वडा स्तरीय २० भन्दा बढि पूर्वाधार योजना अलपत्र परेको बताए । ‘अब ३ महिना मात्र बाँकी छ, १ करोड बढिको योजना अझै सुरु हुन सकेको छैन’ उनले भने ।

बहुमत वडा सदस्यहरुले आफुलाई कार्यवाहकको जिम्मेवारी दिएपछि सीमापारी बसेको वडा अध्यक्षले सचिव मार्फत काम अघि बढाउन नदिएको आरोप मिश्राको छ । वडासचिवले अहिले पनि वडाका अधिकांश सिफारिश तथा कामहरु भारतमा गई वडाअध्यक्षको हस्ताक्षर गराउने अवैध कार्य गरेको अर्का वडा सदस्य मुनेश्वर यादवको भनाई छ । ‘दुई महिना देखि फरार छन् वडामा आएका छैनन, नागरिकता सिफारिश र उपभोक्ता समिति गठन रोकिएको छ तर अरु काम कसरी गरियो’ उनले प्रश्न गरे ।
त्यसो त वडा अध्यक्ष लईस पठान विरुद्ध जिल्ला प्रशासन कार्यालय तथा गृह मन्त्रालयमा दोहोरो नागरिकता लिएको भन्ने उजुरी समेत परेको छ । उजुरीकर्ता इसहार खाँका अनुसार उनी भारतीय नागरिक भएको र उनले किर्ते गरि नेपाली नागरिकता लिएको हुदा नागरिकता खारेजको माग गरेका छन् । भारतीय आधारकार्ड तथा भोटरआईडीमा लईस पठानको नाम नईम खाँन रहेको र उनको ठेगाना सीमावर्ती शोहरतगढ भएको बताइएको छ ।
भारतीय प्रमाणपत्रहरुमा नाम थर, बाबुको नाम र ठेगाना फरक रहेपनि तस्वीर भने हुबहु मेल खाने निवेदक इसहारको दाबी छ । वडा अध्यक्ष विरुद्ध तमाम ठगि, किर्ते, चेक अनादर र दोहोरो नागरिकता सम्बन्धी उजुरी पर्दा समेत प्रहरीले चासो नदिएको पीडितहरुको आरोप छ ।

यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालयले भने ठाडो उजुरीहरु दर्ता भएको र छलफलको लागि लईस पठानलाई बोलाउदा नआएको जानकारी दिएको छ । प्रवक्ता तथा डिएसपी नरेन्द्र कार्कीले उजुरी सम्बन्धी छानबिन भइरहेको बताए । ‘हामीले दुबै पक्षलाई बोलायौ तर पठान आएनन् यसबारे अनुसन्धान गर्दैछौँ’ उनले भने ।
पठान नयाँ शक्ति पार्टीबाट निर्वाचित भएका हुन् ।
-रातोपाटि बाट साभार









