प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण द्धिपक्षीय सम्वन्ध सुधारका लागि सकारात्मक भएको भन्दै केही भारतीय संचारमाध्यमले नयाँदिल्लीलाई नयाँ प्रतिवद्धता जनाउन भन्दा जनाएका पुरा गर्नमा केन्द्रीत हुन सुझाव दिएका छन् ।
नेपालका प्रधानमन्त्रीहरुका भारत भ्रमणलाई खासै महत्व नदिने त्यहाँका संचारमाध्यमले यसपटक प्रधानमन्त्री ओलीको भ्रमणलाई महत्व दिंदै भारतलाई बिग्रेको सम्वन्धलाई पुर्नव्यवस्थित गर्न अवसर भएको बताएका हुन् ।
भारतीय दैनिक ‘द हिन्दु’ मंगलवार भ्रमणमाथि संपादकीय लेख्दै प्रधानमन्त्री ओलीको भारत भ्रमण द्धिपक्षीय सम्वन्धलाई पुर्नव्यवस्थित गर्न महत्वपूर्ण भएको उल्लेख गरेको छ । भ्रमणको जोड ‘कनेक्टिभिटी’मा रहेपनि नेपालको संविधानलाई लिएर भारतले राखेको असन्तुष्टीले उत्पन्न असहज अवस्था अव टरेको उल्लेख छ ।
अखवारले सम्वन्ध सुधारको पहल भारतीय प्रधानमन्त्री मोदीबाट भएको र त्यसलाई नेपालका प्रधानमन्त्री ओलीले पनि स्वागत गरेको भन्दै अवको अवस्था नाकाबन्दीको जस्तो नरहेको बताएको छ ।
नेपाल र भारत सम्वन्धको यो ‘रिसेट’ लामो समयदेखि दुबै देशले गर्नुपर्ने प्राथमिकताको सूचीमा रहेपनि वल्ल त्यसतर्फ परिस्थिति अघि बढेको उल्लेख छ । नेपालमा भारतीय हस्तक्षेपवारे काठमाडौंमा व्याप्त षड्यन्त्रको सिद्धान्त र नयाँदिल्ली तथा नेपालस्थित भारतीय कूटनीतिज्ञको ‘प्याट्रोनाइजिङ’ प्रवृतिका कारण सम्वन्धमा सुधार नआएको भन्दै अव नयाँ ढंगमा अघि बढ्ने विश्वास राखेको छ ।
अखवारले सम्वन्धलाई सकारात्मक बनाउने पहिलो फड्को भनेको सन् १९५० को शान्ति तथा मैत्री सन्धीलाई अद्यावधिक गर्ने जारी प्रक्रियालाई पूर्णता दिनुपर्ने बताएको छ । ‘त्यस्तै, नेपालका युवाहरुले भारत वाहिर पनि अवसर खोजेका छन् भने भारतले बुझ्नुपर्छ भने प्रधानमन्त्री ओलीको नेपाललाई ‘ल्याण्डलक्ड’ बाट ‘ल्याण्डलिंक’ बनाउने चाहनालाई भारतले सकारात्मक रुपमा लिनुपर्छ’ संपादकीयमा भनिएको छ ।
भारतले नेपालमा सहयोगका प्रतिवद्धता जनाउने तर काम नगर्ने कारणले गर्दा सम्वन्धमा सुधार नआएको भन्दै अव सडक र रेल, उर्जा र भूकम्पपछिको सहयोगमा भारत केन्द्रिकृत हुनुपर्ने अखवारको सुझाव छ । ‘नयाँ नयाँ पहल थाल्नुभन्दा थालिएकालाई सम्पन्न गरेर साझेदारीताको सफल उदारण देखाउनुपर्छ’ भनिएको छ ।










