विराटनगर- संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले तीन तहको संघीय संरचनानुसार कर्मचारी आवश्यक परेकाले हाललाई कर्मचारी स्वेच्छिक अवकाश प्रक्रिया स्थगन गरिएको बताएका छन्।

विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले स्थानीय निकायमा जनताको सेवा गर्ने कर्मचारी अपुग भएकाले आवश्यक दरबन्दी पूरा गर्न सरकारले कर्मचारीको स्वेच्छिक अवकाश स्थगन गरेको प्रस्ट पारे।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

मन्त्री पण्डितले सबै कार्यालयमा परिपत्र पठाई स्थानीय निकायमा खटिएका कर्मचारीलाई पहिलेको कार्यालयमा हाजिर गराउन मन्त्रालयले रोक लगाएको बताउँदै लुकीछिपी हाजिर गराउनदिने प्रमुखलाई कारबाही गरिने चेतावनी दिए।

कर्मचारीलाई सरकारले खटाएका ठाउँमा जान बारम्बार आह्वान गरिएको बताउँदै उनले अटेर गरे सोझै छुट्टी दिइने स्पष्ट पारे।