विराटनगरस्थित न्यूरो कार्डियो मल्टि स्पेस्यालिटी हस्पिटलले हिन्दुधर्मका गुरु श्री श्री शिरोमणि श्री श्री निवासाचार्यको स्वास्थ्य अवस्था स्थिर रहेको जनाएको छ।

आइतबार भर्ना गरिएका गुरु श्री श्री निवासाचार्यको उपचारमा संलग्न जनरल सर्जन डा. सुदिप खनियाका अनुसार, हाल गुरुलाई नरम खानेकुरा खान दिइएको छ। गुरुको उपचारमा संलग्न डा. खनियाले भने, ‘गुरुको अवस्था स्थिर र सुधारोन्मुख रहेको छ, तथापि पूर्ण रुपमा खतरामुक्त भनिहाल्ने अवस्था भने छैन।’

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

अस्पतालमा भर्ना गरेको केही समयमै डा. खनियाको नेतृत्वमा करिब ४५ मिनेटको उपचारपछि गुरु निवासाचार्यलाई इमेरजेन्सी उपचार र त्यसपछि, छातीको सिटी स्क्यान गराइएको थियो। त्यसपछि दुई दिन मंगलबार विहानसम्म गुरुलाई सघन उपचार कक्षमा राखी उपचार अघि बढाइएको थियो। अस्पताल परिषरमा कडा सुरक्षाका बीच गुरुको उपचार भइरहेको छ।

सोमबार उपचारका क्रममा गुरुको छातीमा पाइप राखी भित्र जम्मा भएको रगत र हावा निकालिएको थियो। डा. खनिया भन्छन्, सोमबार हामीले उहाँको छातीमा उपचार गर्दै जादा ७ सय एमएल जमेको रगत र हावा निकाल्यौ। त्यसपछि, उहालाई हामीले सघन उपचार कक्षबाट विस्तारै पोष्ट ओपरेटिभ वार्डमा राखी उपचार गराइरहेका छौ। उनी थप्छन्, ‘अझै पनि उहाको अवस्था ठीक छ भनिहाल्न सकिन्‍न। अवस्था सुधारोन्मुख रहेको छ, तर फोक्सोमा संक्रमणको खतरा अझै छ।’

गुरुको छातिमाथि कुममा गोली प्रहार गरिएको भएपनि, उपचारका क्रममा गोली नभेटिएको बताइएको छ। यद्धपि गोली लागेको कुमको भागमा बारुदका जस्ता ससाना अंश भेटिएको थियो। हाल गुरुको छातीको एक्स रे डिएफ कन्सोलिडेसन रहेको र घाउलाई नियमित ड्रेसिङ्ग गराउदै आवश्यक औषधि उपचार गराउदै आएको अस्पतलले जनाएको छ।

तत्काल गुरु श्रीनिवासाचार्यलाई डिस्चार्ज गराइहाल्ने अवस्था नरहेको जनाएको अस्पतालले गुरुका निकटस्थ, अनुयायीहरुलाई समय मिलाएर भेट गराउदै आएको छ। हाल सामान्य बोलचाल गर्न सक्ने अवस्थामा रहेका गुरुलाई हिँड्डुल गर्नमा चिकित्सकहरुले रोक लगाएका छन्। गुरुको सुरक्षाका लागि अस्पताल परिषरमा प्रहरी सुरक्षाकर्मीको समेत व्‍यवस्था गरिएको छ।

गत आइतबार विराटनगरको जतुवा १४ मा धार्मिक कार्यक्रममा सहभागि हुने क्रममा गुरु श्री निवासाचार्यमाथि गोली प्रहार भएको थियो।आइतबार विहान करिब २ बजे गोली प्रहार गरिएलगत्तै गुरुलाई उनका शिष्य तथा कार्यक्रम आयोजक धार्मिक महिला जागरणले भूमि प्रशासन चौक नजिकको सप्तकोशी अस्पताल पुर्‍याइएको थियो। तर, उक्त अस्पतालले अन्यत्र लैजान भनेपछि, तत्काल गुरुलाई न्यूरो अस्पताल उपचारका लागि पुर्‍याइएको थियो।