काठमाडौं । गएको शुक्रबार साढे २ बजेतिर ट्राफिक प्रहरी महाशाखाको १ नम्बर कोठमा पुग्दा, सर्वेन्द्र खनाल, डीआईको फुलीमा थिए । हाँस्य कलाकारहरुको टोलीसँग बात मार्दैैथिए, कोठाको उत्तर कुनामा राखिएकको सोफाको कुनामा दाहिने हात अड्याएर । हास्य कलाकार भएपनि, त्यहाँ हाँसोको माहोला थिएन । खनाल र कलाकार टोली गम्भीर मुद्रामै देखिन्थे । गाजले टाइपको आँखा अलिक लोजो र अनुहार अलिक मलिनजस्तो देखिन्थ्यो । गम्भीर देखिन्थे उनी । कलाकार टोली गएपछि, कुराकानी भयो करीब ४५ मिनेट ।
डीआईजी सा’व निद्रा कत्तिको परेको छ आजकल ?
उनले नढाँटी भने“ निद्रा चाहिँ दुईचार दिनदेखि अलिक विथोलिएको छ । कहिले काहीँ राम्रो निद्रा पर्दैन, राती व्युझिन्छु, कहिलेकाहीँ अलि बढी सोच आउँछ” ।
यही विषय (आईजी बढुवा) मा ?
अँ अहिले चाहिँ यही विषयले अगुपाइ गरेको छ। अरुबेला प्लानिङ केही गरौं भन्ने हुन्थ्यो, अहिले चाहिँ दुई चार दिनयता त्यस्तो आउँछ, निद्रा अलि विथोलिन्छ ।
इन्सेक्योर फिल चाहिँ भा छ कि छैन ?
उनी अलि गम्भीर जस्तो भए । भने, यो अवस्थामा आईसकेर नेतृत्व मुखैमा आउँदा केही टेन्सन हुन्छ । सर्सर्ती देखिएको कुरामा हेर्दा आफुलाई कन्फिडेण्ट पनि हुन्छ । तर कुनै बेलामा यस्तो रे उस्तो रे भन्छन्, एउटाले एउटा सुनाउँछ, अर्कोले अर्को सुनाउँछ , कसैले किन बसिरा भन्छ, कसैले याँ जाउँ, त्याँ जाउँ भन्छन् । कहिले काहिँचाहिँ आफुलाई पनि अलिकति गरेको कामको मूल्यांकन गरिदिँदा हुन्छ जस्तो लाग्छ ।
अघिल्लोपटक जस्तो यसपाली बढुवा विवाद नहोस् भन्ने खनाल चाहन्थे । सही समय आएजस्तो लाग्याछ, भने । उनले भने झैं उनका लागि सही समय आयो तर सोमबार दिनभरीकै अन्यौलता पछि । मंगलबार बिहान बसेको मन्त्रीपरिषद बैठकले आईजीबारे निर्णय लिन नसक्नुले थुप्रै प्रश्न र अड्कलबाजी जन्मायो पनि । मन्त्रीपरिषद बैठक एकैदिन दोश्रोपल्ट बस्यो, निर्णय आउन रात पर्नै पर्यो ।
पारिवारिक पृष्ठभूमी : खनाल राइँलो
आइजीपी खनालको बाबुका ४ भाई । उनका बाबु काइँलो । जागिरे थिए । काठमाडौं पकनाजोलमा घर थियो । राणा बिरोधी गतिविधिको अभियोग लाग्यो । चारापाटा मुडेर चार भञ्ज्याङ कटाइयो चारै जनालाई । माइलो बाबु चितवन पुगेको पछि थाहा भयो, त्यो पनि माईली आमा मात्रै फेला परिन् । अरुको अझै पत्तो छैन । काहिँलो चाहिँ तनहुँ पुगेछन् । उनी तनहुँ चुँदीमा जन्मिए । आईजी खनालका ७ दाजुभाई । एउटै आमाले जन्माएका । उनी राइँलो अर्थात् ठूलो कान्छो । खनाल मुनी कान्छो भाई छन् । कान्छो बारामा राष्ट्रिय अनुसन्धानको एसपी छन् ।
ईन्जिनियर बन्न चाहन्थे
तनहुँमा जन्मिए पनि खनालले स्नातकोत्तर सम्मको अध्ययन काठमाडौंमै पुरा गरे । खनालको परिवार पछि काठमाडौंमै फर्किएको थियो । उनी पकनाजोलमा हुर्किए । लैनचौरको शान्ति विद्यागृहबाट एसएलसी गरे, अमृत साइन्स क्याम्पसमा फिजिकल लिएर आइ.एस.सी गरे । खासमा ईन्जिनियर बन्न चाहन्थे उनी । त्यतिबेला स्कलरशिप– प्लानको व्यवस्था थियो । उनको सोर्सफोर्स पुगेन । साईन्स छाडेर स्नातकमा कमर्श पढे अनि स्नातकोत्तर चाहिँ जनप्रशासनमा गरे ।
ईन्काउन्टर किङ्ग
गुण्डा तह लगाउने दृढ संकल्प सहित हो खनाल प्रहरी सेवामा छिरेका । सानैदेखि अन्याय सहन नक्सने बिद्रोही स्वभाव थियो, उनको । कसैले अलिक निर्धोलाई हेपेको देखेमा जाई लागिहाल्ने । युवती जिस्क्याउनेसँग पनि भिडिहाल्ने । लैनचौरमा २ जना असई थिए । सेतो बाइक चढेर हिँड्थे । फुर्तीफार्ती गर्थे । उनीहरुको फूर्तीदेखिपछि पुलिस भएमा गुण्डा तह लगाउन पाइन्छ भन्ने लाग्यो ।
धनुषामा, जनकपुरको रेल’वे स्टेशनको ढापदेखि विभिन्न ६ ठाउँमा गुण्डा इन्काउन्टर गरे । कपिलबस्तुमा हतियारधारी मिर्जादिलबेग साहलाई उचालेर पछारे । सीडीओलाई गोली हान्ने भोलाई पासवानको ठेगान लगाए । रौतहटमा ५ जना गुण्डा ढाले । तराई जनतान्त्रिक मुक्तिमोर्चा धनुषा महोत्तरी प्रमुख सुधिर पाण्डे, राजन मुक्ति प्लटुन कमाण्डर, ज्वाला समूहका धनुषा, महोत्तरी, सर्लाही इन्चार्ज मरिक यादव, बीरगन्जमा गुण्डानाइके सुनिल जैसवाल अनि काठमाडौंमा कुमार श्रेष्ठ घैंटेको इन्काउन्टर गरे ।
नेपालमा मात्रै होइन विदेशमा पनि भिडे गुण्डासँग
राष्ट्रसंघको मिसनमा खटिएताका हो । फ्रान्सको पेरिस जाँदैथिए । श्रीमती र सानो बच्चा लिएर एकजना मान्छे पनि घुम्न गएका रहेछन् । पेरिस पुग्न करीब ४५ मिनेटजति बाँकी हुँदो हो, कम्पार्टमेन्टमा एउटा अफ्रिकन मुलको जस्तो देखिनेले, ती व्यक्तिलाई कुट्न थाल्यो । यताउता हेरे, कस्सैले पनि एक शब्द बोलेन । उनी गएर छेक्न खोजे । त्यो लम्बू उनैमाथि जाइलाग्यो । उनी पनि के कम, लम्बूलाई ढलाए । खनाल त्यतिबेला श्रीमती लिएर पेरिस घुम्न गएका थिए ।
मुसासँग भनेपछि सात्तो जान्छ
जोखिम मोल्न खनाललाई मज्जा आउँछ । यो उनको भनाई हो । किन ? देशका लागि जनताका लागि । यो उनको जवाफ । डर लाग्दैन त ? लाग्दैन, लाग्दै लाग्दैन । डर भन्या मलाई अहिलेसम्म आएन । ढुक्कैसँग भने । त्यसो भए केसँग चाहिँ डर लाग्छ त ? उनले भने मुसासँग चाहिँ लाग्छ । शंका लाग्यो, सायद जिस्किए कि १ साँच्चै हो ? दोहाेर्याएर सोधियो । उनले साँच्चै हो, भने ।
प्रसंग रहेछ यस्तो : एक त घिन पनि लाग्छ रे । अर्को, पकनाजोलस्थित उनको पुरानो घरमा मुसा छिरेछ । घरमा दाजुभाई रहेछन् । दाईले अब मुसा मार्नुपर्छ भनेर ढोका थुने । मुसा पर्खाल चढ्यो तर बाहिर निस्कने ठाउँ थिएन । अक्करमा प¥यो । मर्ता क्या नहिँ कर्ता, मुसा आक्रोसित भयो । रौं ठाडा ठाडा पारेर दाजुभाईमाथि नै अट्याक गर्न थाल्यो । सीधै फ्लाइङ गरेरै आक्रमणमा उत्रियो । उनीहरुलाई मुसाले यस्तो अवतार देखाउँछ भन्ने थाहै थिएन । स्वरुप पनि देख्दै भयंकरको । के को मुसा मार्नु । दुबै भाईको भागाभाग । त्यसपछि उनले मुसाको इन्काउन्टर गर्ने हिम्मत कहिले पनि गरेनन् । उनले भने– अहिले पनि कहिँ मुसा आइहाल्यो भने डर लाग्छ, अरुसँग डर लाग्दैन । मुसा बाहेक अरुसँग नडराउने खनालले, सिनियर अफिसरको गलत आदेश नमान्दा कैयौं पटक घण्टेदेखि सरुवाको कार्वाही भोगेका छन् ।
आईजीपी बनेपछिको योजना :
खनालले बाचा गरेका छन्ः सेवा सुविधा मानसम्मान र अर्को फोटो थप्नका लागि मात्रै म आइजी बन्ने होइन । प्रहरीको काम फेयर गराउने, कसैको पक्ष विपक्षमा नलाग्ने, कार्वाही प्रक्रिया न्यायोचित गराउने । प्रहरी कर्मचारीलाई पुरै स्वतन्त्र छाड्न पनि हुँदैन, सुपरभिजन र मोनिटरिङ पनि गर्ने । सेवाप्रति जिम्मेवार बनाउने र उनीहरुको मनोबल उकास्ने ।
भन्थेः आई भएपछि पनि बाहिर फिल्डमै गएर काम गर्ने हो । उनले थपे–‘‘म आइजीपी हुँदा सबभन्दा बढी दुःखी गुण्डा र अनियमितता गर्नेहरुनै होला । किनकि सर्बेन्द्रले छाड्नेवाला छैन’’ । आईजीपी खनालको ३० वर्षे सेवाअवधि विहिबारबाट गन्ति हुँदैछ ।










