काठमाडौं : प्रहरी नायब महानिरीक्षक (डीआइजी) रमेश खरेलले राजीनामा दिएका छन्। प्रहरी महानिरीक्षक (आइजीपी) मा दावेदार मध्येका एक खरेल सरकारले डीआइजी सर्वेन्द्र खनाललाई आइजीपी बढुवा गरेपछि असन्तुष्ट थिए।
असन्तुष्टिका बीच उनले बुधबार गृहमन्त्रालयमा राजीनामा बुझाएका हुन्। 'मैले अलग्गिने निर्णय गरेँ', उनले अन्नपूर्णसँग भने, 'अब प्रक्रियामा जाला।'
उनले फेसबुकमा लेखेका छन्-
नवनियुक्त प्रहरी महानिरीक्षक ज्यूलाई हार्दिक बधाई तथा सफल कार्यकालको लागि शुभकामना व्यक्त गर्दै २९ बर्षको सेवा अवधीबाट अलगिने निर्णय गर्दछु साथै नेपाल प्रहरी संगठन तथा सम्पूर्ण प्रहरी परिवार र नेपाली दाजुभाई तथा दिदिबहिनी प्रति आभार व्यक्त गर्न चाहन्छु । जयनेपाल !
मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा सर्वेन्द्र खनाललाई बढुवा गरेको थियो। नेपाल प्रहरीमा दुई प्रतिस्पर्धी डीआइजीद्वय रमेश खरेल र पुष्कर कार्कीलाई पछि पार्दै खनाल प्रहरी महानिरीक्षकमा बढुवा भएका हुन्।
ट्राफिक प्रहरी महाशाखाका प्रमुख खनाल कार्यसम्पादन मूल्यांकन (कासमू) मा एक नम्बरमा थिए।
-अन्नपूर्ण पोस्ट बाट साभारयो पनि पढ्नुस्ः
आइजिपी नबनेछि डिआइजि रमेश खरेलद्धारा यस्तो घोषणाकाठमाडौं । सरकारले नेपाल प्रहरीका महानिरीक्षकमा सर्वेन्द्र खनाललाई नियुक्त गरेलगत्तै सहब्याची रमेश खरेलले राजीनामाको घोषणा गरेका छन् । मंगलबार खरेलले दिएको संक्षिप्त प्रतिक्रिया–
नेपाल प्रहरीको महानिरीक्षकमा तपाईंको पनि दाबेदारी थियो, सहब्याची सर्वेन्द्र खनालले यो जिम्मेवारी पाउनुभएको छ, तपाईंको प्रतिक्रिया के छ ?
आइजिपीमा नियुक्त साथीलाई म बधाई दिन चाहन्छु । २९ वर्ष नेपाल प्रहरीको सेवा गरेँ । भोलि (बुधबार)देखि बिदा हुँदै छु ।
आफूले अवसर नपाउनासाथ सार्वजनिक रूपमा असन्तुष्ट व्यक्त गर्ने, अदालत जाने र राजीनामा पनि दिने प्रचलन आएको छ, यसले फौजमा कस्तो संस्कार बसाउला ?
पद्धति बसाएर निर्णय गर्नुपर्छ । भागबन्डा नहुने भए मात्र प्रहरीभित्र पनि असल संस्कार बस्न सक्छ । म भलिबल खेलाडीका रूपमा प्रहरी जवान भई यो संगठनमा छिरेको हुँ । प्रहरी जवानकै रूपमा प्रवेश गर्दा पनि म एक दिन शीर्षस्थ स्थानबाट नेपाल प्रहरीलाई हाँक्छु भन्ने सपना देखेको थिएँ । त्यही सपना पूरा गर्न मैले जानजान गल्ती कहिल्यै गरिनँ । तर, त्यो अवसर पाइनँ । हीन भावना बोकेर बसेँ भने पनि संगठनलाई शतप्रतिशत नतिजा दिन सक्दिनँ । त्यसैले बिदा हुने निर्णय गरेको छु ।
सरकारले कसै न कसैलाई जिम्मेवारी दिनुपथ्र्यो, एकजनालाई दियो । तपाईंप्रति अन्याय के भयो ? म संगठनप्रति आभारी छु । आज जे छु त्यो नेपाल प्रहरीको कारण छु । निर्णय गर्ने जिम्मा सरकारको हो । सरकारप्रति गुनासो छैन । उसलाई ठीक लागेको निर्णय गर्यो होला, बाँकी काम मेरो विवेकको हो । म राजीनामा दिन्छु ।
तपाईं योग्य अफिसर हो तर सबैभन्दा अब्बल तपाईं नै हो भन्ने आधार के हो ? दाबेदार सबैले आफूलाई अब्बल ठान्छन् । मैले पनि ठानेँ, के बिराएँ । प्रमाण पेस गर्न सक्दिनँ । मूल्यांकन अरुले गर्ने हो ।
सरकारले भर्खर निर्णय गरेको छ, त्यसैले तपाईंको तातो प्रतिक्रिया होला । भोलि (बुधबार) बिहानसम्म पुनर्विचार गर्नुहुन्छ होला नि ? यो रमेश खरेलको बोली हो । बुझ्नुस् फाइनल डिसिजन हो ।
अबका दिन कसरी बिताउनुहुन्छ ? सोचेको छैन । परिवार र राष्ट्रका लागि गर्ने हो ।
राजनीतिमा‘ ? मेरो स्वभाव राजनीति सुहाउँदो छैन । तर, गर्दैगर्दिनँ भनेर कसम किन खानू ? (नयाँ पत्रिका दैनिक)










