चितवन, २९ चैत : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अबको बैठकले पार्टी एकताका लागि अन्तिम वैठक हुने दावी गरेका छन् ।

उनले वैशाख ९ गते पार्टी एकता घोषणा हुने गरी टुंगो लगाउने बताए । भरतपुर महानगरपालिका वडा नं १४, पकौडीमा आज आयोजित शोकसभामा उनले आफू शुक्रबार काठमाडौँ फर्किएपछि दुई पार्टीका बीचमा हुने बैठकले पार्टी एकता घोषणाको अन्तिम रुप दिने दाबी गरे । उनले दुई कार्यदलले तयार गरेको प्रतिवेदनमा खासै असहमति नभएको बताए । विधानमा केही छलफल गरेपछि टुंगो लाग्ने भन्दै उनले भने, ‘पार्टी एकता टुङ्ग्याउने समयमा एक दुई वटा विषयमा गहन छलफल होस् भन्ने चाहना हुन्छ, त्यो हामी टुङ्ग्याउँछौं ।’

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

मिडियाबाट आएका कतिपय समाचार भ्रामक रहेको भन्दै उनले पार्टी एकताको गतिमा कुनै अवरोध नरहेको प्रष्ट्याए । नेपाली जनताले वामपन्थीबाट गरेको अपेक्षा सम्बोधन गर्ने गरी काम गरिने उनले बताए । जनताको अहिलेको अपेक्षा विकास निर्माणमा तीव्रता र अशान्ति एवं अराजकताको अन्त्य भएको भन्दै उनले त्यसको पक्षमा आफूहरु रहेको उल्लेख गरे । छिट्टै नीति तथा कार्यक्रम र नयाँ बजेट सरकारले ल्याउने भन्दै उनले त्यसले विकास निर्माणमा नयाँ गति देओस् भनेर छलफल भइरहेको बताए ।

चितवन क्षेत्र नं ३ बाट निर्वा्चित सांसदसमेत रहेका दाहालले तत्काल केही रकम पठाएर २६ वटा जिल्लाका सडक कालोपत्रे गर्ने तयारी भइरहेको पनि बताए । त्यसलाई महानगरबाट सिफारिस भइसकेको दाहालले बताए । अध्यक्ष दाहालका आफ्नै सालो (सीता दाहालका भाइ) महाप्रसाद पौडेलको निधनको सातौँ दिनमा आज नेकपा (माओवादी केन्द्र) १४ नं वडा कमिटीले श्रद्धाञ्जलिसभाको आयोजना गरेको हो ।