मेलम्ची : खानेपानी मन्त्री बिना मगरले मेलम्ची खानेपानी आयोजनाको निर्माणको प्रगति तिब्र रुपमा भइरहेको बताएकी छिन् । मेलम्ची खानेपानी आयोजनाको सुरुङ मार्ग निर्माण सम्पन्न भएको अवसरमा आयोजित कार्यक्रममा मन्त्री मगरले भनिन्, ‘सगरमाथा चढ्दा हिलारी स्टेप भन्ने हुन्छ, त्यहाँ पुगेपछि हामी सगरमाथाको शिखर चढेको अनुभूति हुन्छ। मेलम्ची खानेपानी आयोजना सुरुङ मार्ग निर्माण सकिएको छ । हामी हिमाली स्टेपमा पुग्यौं। अब केही महिनामै सगरमाथाको चुचुरोमा पुग्छौं।’

उनले मेलम्ची काठमाडौं बासीको सपना भएको भन्दै त्यो त्यो निकट भविष्यमै पूरा हुने बताएकी छिन् । ‘मेलम्ची काठमाडौंबासीको सपना हो। निकट भविष्यमै सपना सार्थक हुँदैछ’, मन्त्री मगरले भनिन्, ‘काठमाडौंबासीको मुहारमा खुसी आउँदैछ। हामी त्यसका लागि सम्पूर्ण मिहिनतका साथ लागेका छौं।’

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

ककाठमाडौंको प्यास मेटाउने सिन्धुपाल्चोकका जनतालाई उनले धन्यवाद समेत दिएकी छिन् । ‘म मन्त्री भएर आएदेखि नै रातदिन नभनी काम गरिरहेका छौं। हामी समृद्धिको नयाँ युगतिर लम्किएका छौं। हामीलाई एक मिनेट पनि विश्राम लिने छुट छैन’, मन्त्री मगरले भनिन्, ‘तपाईहरु पनि रातदिन नभनी काम गर्नुस्। हामीले जनतालाई नतिजा दिनुपर्छ।’

कार्यक्रममा कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्री शेरबहादुर तामाङले काठमाडौंलाई मेलम्ची सुम्पन पाएकोमा खुसी व्यक्त गरे ।

औपचारिक कार्यक्रमअघि उपराष्ट्रपति नन्दबहादुर पुनले २६ किमी लामो सुरुङ मार्गको उद्घाटन गरेका थिए। कार्यक्रममा आयोजना प्रमुख रामचन्द्र देवकोटाले आयोजनाको ब्रिफिङ गरे । -अन्नपूर्ण पोस्ट बाट