२९ चैत – गहृमन्त्री रामबहादुर थापा बादलले आफूले सत्य कुरा बोल्दा उडाउने काम भएको बताएका छन् ।

मन्त्री बादलले भने आफूले गृह प्रशासन र नेपालको सुरक्षा क्षेत्रमा रहेका कुरिति बाहिर ल्याउन खोज्दा उडाइएको भन्दै गुनासो गरेका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

‘मैले आजसम्म कुनै मिडियालाई अन्तर्वार्ता दिएर महत्वकांक्षी योजना सार्वजानिक गरेको छैन, विगतमा भएका अवैध काम र मनपरीतन्त्रलाई बन्द गरेर राम्रो गर्छु भन्दा मेरा कुरालाई उडाउने र बङ्गाउने काम भयो, गृहमन्त्रीलाई उद्धत गर्दै उनका प्रेस संयोजक किरण भट्टराईले भने ।

उनकाअनुसार मन्त्री बादलले विमानस्थलबाट हुने तस्करी र राजश्व छलीदेखि सरकारी सवारी साधन दुरुपयोगमा सुधार गर्छु भन्दा सर्मथन पाइने अपेक्षा गरेका थिए । तर त्यसको साटो सञ्चारमाध्यम र सामाजिक सञ्जालमा यस्ता विषयलाई बंग्याएर उडाउँदा उनले ‘चित्त दुखाएका’ छन् ।

चैत १८ गते ८२ बुँदे गृह सुधार कार्ययोजना सार्वजनिक गर्दै मन्त्री बादलले नेपालमा हिन्दी चलचित्र ‘सोले’भन्दा ‘महासोले’ अर्थात् ‘सोलेका बाउहरू’ रहेको प्रतिक्रिया दिए । सोही दिन उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट टनका टन सुन आयात हुने गरेको बताए ।

उनले जेलमा रहेका कैदी पनि मर्सिडिज् कार चढेर नेवारी खाजा खान जाने र, दाइनाइके र भाइ नाइकेको दादागिरी चल्ने पनि उल्लेख गरे ।

त्यसअघि उनले देशका मुख्यमुख्य कारागारको निरीक्षण गरेका थिए । जेलमा रहेका कैदीको दादागिरी रोक्न मन्त्री बादलले लामो समष एकै ठाँउका बसेका कैदीको सरुवा गर्न निर्देशन दिए । उनले देशमा तस्करीको राज भएको र राजश्व छली गर्नेहरूको जमात रहेको भन्दै त्यस्ता समूहलाई परास्त गर्न आफूले ठोस कदम चाल्ने दाबी गरे ।

यसबीचमा उनले दुई काममा सुधारको थालनी पनि गरेका छन् । सरकारी सवारी साधनको दुरुपयोग रोक्न सेतो नम्बर प्लेटलाई रातो बनाउने नदिने र विदाको दिनमा अनुमतिबेगर चलेका गाडीलाई नियन्त्रणमा लिन थालिएको छ ।

योसँगै विभिन्न नेता तथा व्यक्तिको घरमा कामदार र चालकका रूपमा बसेका प्रहरीलाई फिर्ता बोलाउन निर्देशन दिएका छन् । उनको निर्देशनपछि त्यसरी बसेका करिब १ सय जना प्रहरी हेडक्वाटर फिर्ता भएका छन् ।