महोत्तरी । विद्यालयलाई जागिरको अड्डा नठान्न शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले चेतावनी दिएका छन्।
शिक्षक संगठनले बिहीबार महोत्तरीको बर्दिवासमा आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले शिक्षाको मन्दिरजस्तो पवित्रस्थलमा विद्यार्थीको जीवनसँग खेलवाड गर्ने शिक्षकहरुलाई समेत कारवाही गरिने मन्त्री पोखरेलले चेतावनी दिए ।
‘शिक्षक पेशा जागिर खाने ठाउँ होइन, यहाँबाट बालबालिकाको भविष्य उज्जवल हुन्छ । बालबालिकाले विद्यालयबाट शिक्षा प्राप्ति गर्नुको साथै राष्ट्र निर्माण गर्ने पहिलो खुड्किलो पार गर्ने भएको यस पेशालाई खेलवाड नगरौं’, मन्त्री पोखरेलले भने, ‘विद्यालय नजाने, विद्यालय गएर पनि कक्षाकोठामा नजाने, कक्षाकोठामा गएर नपढाउने, शिक्षकहरुको नामावली हामीले प्राप्त गर्ने गरी उपलब्ध गराइदिनुहोस् ।’
शिक्षकमाथि व्यङ्ग्य प्रहार गर्दै मन्त्री पोखरेलले भने, ‘विद्यार्थीहरुलाई होमवर्क नदिने शिक्षक, शिक्षक नै होइन ।’










