विष्णुप्रसाद पोखरेल दमक/झापाको दमकमा जिल्ला अस्पतालको रुपमा रहेको दमक अस्पतालले ७० बर्ष उमेर नाँघेका सबै जेष्ठ नागरिकलाइ निशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने घोषणा गरेको छ । शुक्रबार दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली र उपप्रमुख गीता अधिकारीले संयुक्त रुपमा इमरजेन्सी एवं बहिरंग सेवाको औपचारिक उद्घाटन क्रममा यस्तो घोषणा गरिएको हो ।

अस्पताल स्वीकृत भएको १८ महिनापछि दमक अस्पतालमा यो सेवा शुचारु भएको हो । नगरप्रमुख ओली र उपप्रमुख अधिकारीले अब पैसा नभएका कारण नै कोहि पनि बिरामी अकालमा मृत्युको मुखमा पुग्नु पर्ने अवस्था नआउने विश्वास लिइएको जनाएकाछन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

जेष्ठ नागरिक तथा बिपन्नहरुको शत प्रतिशत निशुल्क उपचार यहाँ हुने जनाइएको छ । अन्य नगरबासीले बाहिरभन्दा धेरै सस्तो र नेपाल सरकारले स्वास्थ्य चौकीहरुमा प्रदान गर्ने गरेको सबै प्रकारका औषधि निशुल्क पाउनेछन् ।

अस्पतालका मेसु बिपिकुमार पाण्डेयले लामो कसरतपछि यो अवस्था आएको बताउदै दक्ष जनशक्तिद्धार विश्वासिलो र गुणस्तरीय सेवा प्रदान गरिने प्रतिबद्धता जनाएकाछन् ।

कार्यक्रम अस्पताल बिकास समितिका अध्यक्ष जिबनकुमार शिवाकोटीको अध्यक्षतामा भएको थियो भने दमक नगरपालिका प्रमुख प्रशासकिय अधिकृत गणेश तिम्सिना लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन नगेन्द्र भट्टराइले गरेका थिए ।