प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको कार्यतालिका तय गर्न परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली चीन जाँदैछन् । उनी बैशाख पहिलो हप्ता चीन जान लागेको स्रोतले जनाएको छ ।
मन्त्री ज्ञवाली यसअघि पनि प्रधानमन्त्री ओलीको भ्रमण भारतभन्दा पहिला चीन हुनुपर्ने पक्षमा थिए । पहिलो भ्रमण चीन नभए पनि ओली भारत जानुभन्दा पहिला भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल ल्याउने प्रयास पनि ज्ञवालीले गरेका थिए । तर, सफल हुन सकेनन् । प्रधानमन्त्री ओलीले केहीदिनअघि भारतको तीन दिने राजीकय भ्रमण गरे ।
अहिले दुवै मुलुक वीच विगतमा भएका सहमति/सम्झौता कार्यान्वयनमा भएका प्रगति र प्रयासको समिक्षा गर्न र उच्च स्तरिय भ्रमणको तयारीका लागि ज्ञवाली बेजिङ जान लागेका हुन् ।
चिनियाँ समकक्षी वाङ यीको निमन्त्रणामा मन्त्री ज्ञवाली चीन भ्रमणको तयारीमा जुटेको परराष्ट्र स्रोतले जनाएको छ ।
मन्त्री ज्ञवाली चार दिने भ्रमणको कार्यतालिका तय गरेर चिन जान लागेका हुन् । भ्रमणका क्रममा उनले चिनिया प्रधानमन्त्रीसँग पनि भेट्ने बताइएको छ । तर, ज्ञवालीको भ्रमणबारे औपचारिक जानकारी भने बाहिर आएको छैन । दैनिक नेपाल बाट










