प्रदेश १ को सरकारले आर्थिक वर्ष २०७४–०७५ का लागि एक अर्ब २ करोड ५ लाख रुपैयाँको बजेट ल्याएको छ । प्रदेश सरकाले बिहीबार बजेट संसदमा पेश गरेको हो ।

प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले प्रदेश सभामा बजेट पेस गरेका हुन् । उनले चालु बर्षको ३ महिनाको लागि बजेट पेश गरेका हुन् ।

बजेटमा चालु खर्चतर्फ ५४ करोड ३४ लाख र पूँजीगत खर्चतर्फ ४७ करोड ७१ लाख रुपैयाँ बिनियोजन गरिएको छ । प्रदेश सरकारले अन्य स्रोत नभएकोले संघीय सरकारबाट प्रप्त अनुदानबाटै बजेट निर्माण गरेको मन्त्री आङबोले बताए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

बजेटमा खाद्यान्न कार्यक्रमको लागि १ करोड ५० लाख रुपैयाँ बिनियोजन गरिएको छ । यो रकमबाट प्रदेशमा रहेका १४ जिल्लाका १–१ स्थानीय तहमा गरिब र विपन्न पहिचान गरी परिचयपत्र वितरण गरेर सुपथ मूल्यमा खाद्यान्न प्रदान गरिने जनाईएको छ ।

बजेटमा कृषि क्षेत्रको विकासको लागि ४ करोड ७६ लाख, पर्यटनको विकासको लागि ६ करोड ५३ लाख, जलस्रोत, उर्जा तथा भौतिक पूर्वाधार विकासको लागि १४ करोड ३३ लाख र सामाजिक क्षेत्रको लागि १२ करोड ५५ लाख रुपैयाँ बिनियोजन गरिएको छ ।

यस्तै प्राकृतिक प्रकोप पीडितको राहतको लागि २ करोड ४१ लाख रुपैयाँ छुट्याएको आर्थिक मामिला मन्त्री आङ्बोले बताए ।