काठमाडौं, १ वैशाख– प्रधानमन्त्री केपी शर्मा ओलीले मुगुको राराबाट देशवासीका नाममा सम्बोधन गरेका छन् । नयाँ वर्षको अवसरमा आयोजित रारा महोत्सवमा सहभागी हुन मुगु पुगेका प्रधानमन्त्री ओलीले त्यहीँबाट देशवासीको नाममा सम्बोधन गरेका हुन् ।

राराको आँगनमा उभिएर सम्बोधन गर्न पाउँदा आफ्रलाई ज्यादै खुसी लागेको उनले बताए । सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले कर्णाली समृद्ध भएमात्रै सिंगो नेपालीको समृद्धिले मात्रै सार्थक पाउने उनले बताए । उनले भने ‘२०७४ उथलपुथल सालका रुपमा रह्यो । तपाईले म माथि गरेको विश्वासमाथि कुठाराघात हुन दिने छैन ।’

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले तीनै तहको निर्वाचन सम्पन्न भएसँगै संविधान सफल कार्यान्वयनको बाटोमा अघि बढेको बताउँदै देशमा स्थायित्वको नयाँ चरण आरम्भ भएको उल्लेख गरे । ‘निर्वाचन हुन नदिने, संविधान कार्यान्वयनमा व्यवधान खडा गर्ने र मुलुकमा अन्त्यहीन अस्थिरता सिर्जना गर्ने दुस्प्रयास विफल भएका छन्,’ ओलीले भने, ‘निर्वाचनको सफलतासँगै हाम्रो देश नेपाल, लोकतान्त्रिक अभ्यासमा नयाँ मानक स्थापित गर्न सफल भएको छ।’

प्रधानमन्त्रीले आफूले निष्ठाका साथ काम गर्ने प्रतिबद्धता दोहोर्याउँदै नेपाल बनाउने र जनताका सपनाहरु पूरा गर्नेमा आशंका नगर्न अपिल गरे । ‘के नेपाल बन्छ? के यो सरकारले हाम्रा सपना पूरा गर्छ भन्ने प्रश्नहरुमा मैले पटक–पटक भन्दै आएको छु– नेपाल बन्छ, बनाउनै पर्छ,’ प्रधानमन्त्रीले भने, ‘हो, हरेक चिजको आयु र अबधिको सीमा हुन्छ । मान्छेको ज्ञान र सामथ्र्यको पनि सीमा हुन्छ । तर इमानको कुनै सीमा हुन्न, निष्ठाको कुनै निर्धारित आयु छैन । इमान र निष्ठाका साथ काम गर्न कसैलाई कुनै अतिरिक्त प्रशिक्षणको पनि खाँचो पर्दैन।’

विगतमा जनताको चाहना र संसदको अंक गणितको वीचमा रहेको खाडल यसपटक पुरिएको बताउँदै प्रधानमन्त्रीले समृद्धिको आधारशीला खडा गर्ने युगीन दायित्व सुम्पिएकोमा नेपाली जनतालाई धन्यवाद दिएका छन्। लोकान्तर बाट