काठमाडौँ, १ वैशाख- सुशील कोइराला मेमोरियल फाउण्डेशनले सामाजिक क्षेत्रमा काम गर्नका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) सँग सहकार्य गर्ने भएको छ ।

नेपाली काँग्र्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री सुशील कोइरालाको नाममा स्थापित फाउण्डेशनले मुलुकको शिक्षा, स्वास्थ्य, खेलकुदलगायत क्षेत्रमा काम गर्न एनआएनएसँग सम्झौता गरेको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

एनआरएनएको नागपोखरी नक्सालमा रहेको कार्यालयमा फाउण्डेशनका सदस्य–सचिव अतुल कोइराला र एनआरएनएका अध्यक्ष भवन भट्टले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

फाउण्डेशनका सदस्य–सचिव कोइरालाले सामाजिक क्षेत्रमा काम गर्न फाउण्डेशनले योजना बनाउने र दुवैको सहकार्यमा कार्यक्रमहरु सञ्चालन गर्ने गरी सम्झौता भएको जानकारी दिए ।

फाउण्डेशनले मुलुकको शिक्षा र स्वास्थ्य क्षेत्रको विकास र सामाजिक कामका लागि यसअघि महाराष्ट्र इन्टिच्युट अफ टेक्नोलोजी भारतको पुनासँग सम्झौता गरिसकेको छ ।

वि.सं. २०७३ असोज २३ मा स्थापना भएको फाउण्डेशनले यसअघि मदन भण्डारी स्पोर्टस एकेडेमीद्वारा आयोजित कार्यक्रमका विजेता खेलाडीलाई पुरस्कार, काठमाडौँ विश्वविद्यालयमा इन्टर कलेज फुटबल प्रतियोगिता, प्रथम अन्तर्राष्ट्रिय ह्लचियर प्रतियोगिता, विभिन्न विद्यालयमा शैक्षिक सामग्री वितरणलगायतका सामाजिक कार्य सम्पन्न गरिसकेको छ ।