काठमाडौं– विद्यार्थी भर्ना अभियानको क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीदेखि पूर्वसभामुख सुवासचन्द्र नेम्वाङसम्मले विद्यार्थी भर्ना गराएका छन्।
प्रधानमन्त्री ओलीले मुगुका ठिन्ले साँवु लामा, रक्षामन्त्री इश्वर पोखरेलले सुर्यदेवी रोकाय, संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रविन्द्र अधिकारीले पुन्नबहादुर कुमाल, पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले विनीता नेपाली र शिक्षा मन्त्री गिरिराजमणी पोखरेलले कर्मा याङजिङको स्वेच्छिक अभिभावकत्व ग्रहण गरेका हुन्।
योसँगै अन्य सरकारी अधिकारीसमेत अभियानमा सहभागी भएको शिक्षामन्त्री पोखरेलले बताए। अभियानमा छुटेका बालबालिकाको हकमा विशेष सहायतासहित बालबालिका पहिचान तथा भर्ना कार्य अगाडि बढाइने उनले बताए।
विद्यार्थी भर्नाको कुरा गरिरहँदा विद्यार्थीलाई विद्यालयमा टिकाई राख्ने भन्ने चुनौती भएकोले त्यसको अलग्गै रोडम्याप निर्माण गरेको मन्त्री पोखरेलले बताए। यो समस्यालाई समाधान गर्न अभिभावक सहायता कार्यक्रम अगाडि सारेको उनले बताए।
शिक्षामा समतामूलक पहुँच र गुणस्तरियतालाई सँगसँगै अघि बढाउन आफ्ना बालबालिकालाई अनिवार्य रुपमा भर्ना गराउन, उनीहरुलाई नियमित रुपमा पोषणयुक्त सन्तुलित भोजन व्यवस्था गर्न, नियमित रुपमा विद्यालय पठाउन र सिकाइका निम्ति अनुकुल वातावरण सिर्जना गर्न समेत मन्त्री पोखरेलले आग्रह गरेका छन्।










