गौरादह- त्रिभुवन विश्वविद्यालयको कृषि र पशु विज्ञान अध्ययन संस्थान अन्तर्गत आंगिक क्याम्पसको रुपमा स्थापना भएको गौरादह कृषि क्याम्पसमा क्याम्पस प्रमुख सरहको नेतृत्व सम्हाल्न संयोजक भएर जन्मजय गैरे आएका छन् । आइतबार भएको क्याम्पस स्थापना तथा क्याम्पस प्रमुखको पदस्थापना कार्यक्रममा हाललाई क्याम्पस प्रमुखको दरवन्दी नभएकोले माटो विज्ञान विषयको प्राध्यापनका क्षेत्रमा दश वर्षे अनुभव भएका गैरे क्याम्पस प्रमुखकै हैसियतमा संयोजकको रुपमा आएको जानकारी दिइयो ।

गौरादह कृषि क्याम्पस स्थापना तथा क्याम्पस प्रमुखको पदस्थापना कार्यक्रम संविधान सभा सदस्य एवं पूर्व सांसद दिपक कार्कीको सभापतित्व र त्रिभुवन विश्वविद्यालय कृषि र पशु विज्ञान अध्ययन संस्थानका डिन प्रा.डा. केशवराज अधिकारीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

कार्यक्रमका प्रमुख अतिथि डिन प्रा.डा. केशवराज अधिकारीले नेपालकै कृषि उत्पादको मुख्य भूमि नेपालको पूर्वी भाग भएको तर यही भाग कृषि उत्पादनमा पछि परिरहेको थियो तर अब गौरादहमा स्थापना भएको कृषि क्याम्पसले यस भेगलाई कृषि उत्पादनको क्षेत्रमा अघि बढाउन सहयोग पु¥याउने कुरामा आफू विश्वस्त रहेको बताए ।

कार्यक्रममा कृषि क्याम्पसका संयोजक जन्मजय गैरेले अध्ययनलाई अनुसन्धानसँग र अनुसन्धानलाई उत्पादनसँग जोड्दै शिक्षा र कृषिमा यस क्षेत्रलाई अघि बढाउन आफूले कृषि क्याम्पसको नेतृत्व सम्हान आएको बताएका थिए । कार्यक्रममा गौरादह नगरपालिकाका नगर प्रमुख रोहितकमार शाह, नेकपा एमाले जिल्ला सचिवालय सदस्य योगराज दाहाल, नेपाली काङ्ग्रेसका नगर सभापति यादवराज सेडाईं, नेकपा माओवादी केन्द्रका जिल्ला सदस्य पुष्पलाल ढकाल, गौरादह बहुमुखी क्याम्पसका पूर्व संचालक समिति अध्यक्ष अमर विष्ट लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

गौरादह बहुमुखी क्याम्पसको सभाहलमा सम्पन्न कार्यक्रममा गौरादह बहुमुखी क्याम्पसका संचलक समितिका अध्यक्ष चिरञ्जीवी दाहालले स्वागत गरेका थिए भने कार्यक्रम संचालन संस्थानका सहायक डिन सरोजराज मिश्रले गरेका थिए ।

गौरादह कृषि क्याम्पसमा हाललाई ५० जना विद्यार्थीहरुको अध्ययन कोटा रहेको छ । यस क्याम्पसमा चार वर्षे वि.एसी.एजी पढाई पूरा हुँदा ३२ प्राध्यापक, ९० कर्मचारी र चार सय विद्यार्थी रहने जनाइएको छ ।