धादिङ जिल्लाको थाक्रे गाउँपालिका ७ दशकिल्लामा बस र ट्रक एकआपसमा ठोक्किदा दुईजनाको मृत्यु भएको छ । दुर्घटनामा २० यात्रु घाइते भएका छन् ।
आइतबार राति सवा १० बजे ना ५ ख २४६७ नम्बरको बस र ना ६ ख ६५११ नम्बरको ट्रक आपसमा ठोकिंदा २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुवै सवारी साधनमा सवार २० जना घाइते भएका छन् ।
मृत्यु हुनेमा ट्रक चालक ललितपुरको सातदोबाटो बस्ने २५ वर्षीय मनोज खड्की र बसमा सवार रौतहटको गौर नगरपालिका ५ की १६ वर्षीया आयुष्मा भट्टराई रहेका छन् ।
खड्कीको उपचारको लागि अस्पताल ल्याउने क्रममा बाटो मै मृत्यु भएको थियो भने भट्टराईको गणेशमान मेमोरियल अस्पताल ललितपुरमा मृत्यु भएको धादिङ प्रहरीले जनाएको छ ।
घाइतेमध्ये ७ जनाको महादेवदेवी पोली क्लिनिक धादिङमै उपचार भइरहेको छ । अन्य घाइतेहरूको काठमाडौं र ललितपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।










