एमालेको भ्रातृसंगठन युवा संघभित्र अध्यक्ष राजीव पहारीको राजीनामा विवाद चर्किएको छ । ललितपुरको तुलसीलाल प्रतिष्ठानमा सोमबारसुरु भएको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष पहारीले तत्काल राजीनामा दिएर बिदा लिने कि महाधिवेशन गरेर भन्नेमा विवाद देखिएपछि बैठक स्थगित भएको छ ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीकै उपस्थितिमा पूर्वअध्यक्ष महेश बस्नेत र निरु पाललगायतले दबाब दिएर अध्यक्ष पहारीलाई महाधिवेशन नै नगराई राजीनामा गराउन खोजेको भन्दै उपाध्यक्ष दिलु पन्त र सचिव नरेश शाहीलगायतको समूहले बैठकमा विरोध जनाएको छ । विवादबीच एमाले पोलिटब्युरो सदस्य तथा युवा संघ इन्चार्ज महेन्द्रबहादुर पाण्डेले केन्द्रीय कमिटी बैठक बीचैमा स्थगित भएको घोषणा गरेका थिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

पार्टीमा वरिष्ठ नेता माधवकुमार नेपालनिकट रहेका पन्त र शाहीको समूहले महाधिवेशन नै नगराई पहारीको बिदाई भए समानान्तर कमिटी बनाउने तयारी गरेका छन् । ‘संघका पूर्वअध्यक्षले पार्टी अध्यक्ष र इन्चार्जलाई समेत मुछेर विधि र पद्धतिबाहिर गएर वर्तमान अध्यक्ष पहारीलाई बिदा दिने र महाधिवेशन नगराई आफू अनुकूलको अर्को अध्यक्ष बनाउने तयारी गर्नुभएकाले षड्यन्त्रमूलक योजना हामी मान्दैनौँ,’ उपाध्यक्ष पन्तले भनिन्, ‘एक महिनाभित्र तत्काल महाधिवेशनको निर्णय भएन भने हामी अन्याय सहँदैनौँ, समानान्तर कमिटी बनाउँछौँ ।’

बैठककै बीचमा तीन गुटको भेला केन्द्रीय कमिटी बैठककै बीचमा पहारी समूहको प्रतिष्ठानमै, पूर्वअध्यक्ष बस्नेत र पाल समूहमा रहेका उपाध्यक्ष रमेश पौडेल र महासचिव किरण पौडेल समूहको पशुपति प्लाजा र नेपालनिकट पन्त र शाही समूहको अर्याल होटेलमा छुट्टाछुट्टै बैठक भएको थियो । पहारी समूहमा चन्द्र लामा, हिदम लामा र रमेश आचार्यलगायत छन् । संघ स्रोेतका अनुसार आइतबार राति प्रधानमन्त्री ओलीले अध्यक्ष पहारीलाई बोलाएर एक महिनाभित्र महाधिवेशन गराएर बिदा लिन निर्देशन दिएका थिए । तर, सोमबार बिहान पूर्वअध्यक्ष बस्नेत र पाललगायतको उपस्थितिमा भएको सहमतिपछि पहारीलाई बैठकमै राजीनामा दिन नेतृत्वबाट निर्देशन आएको स्रोतले जनाएको छ ।

कुनै नेताबाट निर्देशन आएको छैन : पहारी

बैठकमा एजेन्डामा छलफल भइराखेको छ । युवा संघ केन्द्रीय कमिटी आफैँमा सार्वभौमसम्पन्न निकाय भएकाले कुनै नेताले राजीनामाको निर्देशन दिएको भन्ने कुरै होइन । दिने कि नदिने मेरो व्यक्तिगत अधिकारको कुरा हो । संघलाई कसरी मजबुत बनाउने विषयमा सबै साथीसँग छलफलमा छु र नेतृत्व हस्तान्तरणका लागि आतुर छु । चालू बैठकले नै महत्वपूर्ण निकास दिन्छ भन्ने लागेको छ । नया पत्रीका  बाट