काठमाडाैँ । नेकपा एमाले र माअाेवादीबीचकाे पार्टी एकता घाेषणा ९ गते नहुने भएकाे छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको संयोजन समितिको बैठकले एकिकृत पार्टीकाे चुनाव चिन्ह सूर्य कायम गर्ने निर्णय गरेकाे छ ।
यसअघि ९ गते कम्युनिष्ट पार्टी स्थापना दिवसका दिन गर्ने भनिएकाे एकता घाेषणा नहुने निश्चित भएकाे छ । बैठकले बिबादकाे बिषयमा सहमति गरेर प्रतिवेदन तयारीकाे जिम्मा प्रधानमन्त्री एव एमाले अध्यक्ष केपी अाेली र माअाेवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलार्इ दिएकाे छ । समितिको अर्को बैठकमा एकताको मिति तय गर्ने माअोवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयाे ।
नेतृत्व, जनयुद्ध र एकतामा दुबै पार्टीबाट सहभागिताकाे अनुपात लगायतमा कुरा नमिल्दा लामो समयदेखि एकता प्रक्रिया टुङ्गाेमा पुग्न सकेकाे छैन ।
एकता संयोजन समितिमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, महासचिव ईश्वर पोखरेल र माओवादी केन्द्रका नेताद्वय नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा सदस्य छन्।










