यातायात व्यवसायीले सरकार विरुद्ध देशव्यापी हड्ताल गर्ने बताएसँगै गृहमन्त्री रामबहादुर थापा बादलले हड्ताल भए सार्वजनिक गाडीहरु कब्जामा लिएर सुरक्षाकर्मी प्रयोग गरी चलाउन प्रहरीलाई निर्देशन दिएका छन् ।
सरकारले सिन्डिकेट तोड्न यातायात व्यवसायी समिति खारेज गर्ने निर्णय गरेपछि त्यसको प्रतिकार स्वरुप यातायात व्यवसायीहरले देशव्यापी हड्ताल गर्ने बताएका छन् । मंगलबारको मन्त्रिपरिषद निर्णयलगत्तै गृहमन्त्री थापाले हड्ताल भएमा बस, ट्यांकरलगायत सार्वजनिक गाडी कब्जामा लिई सञ्चालन गर्न तयारी अवस्थामा बस्न प्रहरीलाई निर्देशन दिएका हुन्।
हडतालबाट सर्वसाधारणलाई मर्का पर्न नदिन बस कब्जामा लिएर सञ्चालन गर्ने गरी तयार बस्नू भनी प्रहरीलाई निर्देशन दिइएको गृहले जनाएको छ । सरकारले अत्यावश्यक सेवा ऐन लगाएर बस नियन्त्रणमा लिने बताएको छ ।










