नेकपा एमाले र माओवादी केन्द्रबीच एकतापछि बन्ने नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटीको आकार बढ्ने भएको छ । माओवादी केन्द्रले २ सय ९९ सदस्यीय केन्द्रीय कमिटी निर्माण गर्दा विगतमा भएको सहमतिको आधारमा आफ्ना कतिपय छुट्नै नहुने नेता छुट्ने अवस्था रहेको बताएपछि संख्या बढ्ने भएको हो ।
एकतापछि आफूहरू नपर्ने महसुस गरेका युवा नेताहरूले दिएको चर्काे दबाब थेग्न नसकेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकतामा बराबर हुनुपर्ने अडान राखेका थिए । सो विषयमा छलफल अघि बढ्दा संख्या बढाएर भए पनि समेट्ने लचकता एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले देखाएपछि संख्या बढाउने गरी छलफल अघि बढेको एकता संयोजन समितिका एक नेताले जानकारी दिए । एमाले अध्यक्ष ओलीले माओवादी केन्द्रका अध्यक्ष दाहालले राखेका कतिपय विषय गम्भीर रहेको र पार्टी एकतामा सकेसम्म कसैको भावनामा चोट नपुगोस् भन्नेतर्फ सचेत हुँदै संख्यामा लचकता देखाएको ती नेताको भनाइ छ ।
स्रोतका अनुसार अध्यक्ष ओली र दाहालबीच संख्याको विषयमा छलफल हुँदा विधान मस्यौदा कार्यदलले बुझाएको प्रतिवेदनमा संख्या थप गर्ने गरी वार्ता जारी छ । छलफलको क्रममा ३ सय ५० सदस्यीय केन्द्रीय कमिटी बनाउन सकिने सहमति बनेको स्रोतले बतायो । यसअघि, ओली–दाहालले दुई अध्यक्षसहित ९९ सदस्यीय केन्द्रीय कमिटी बनाउने प्रस्ताव गरेका थिए । तर, सबै नेताहरूले निकै कम हुने र असन्तुष्टको समूह बढ्ने सुझाएपछि २ सय ९९ सदस्यीय केन्द्रीय कमिटी, ९९ सदस्यीय पोलिटब्युरो र ३३ सदस्यीय स्थायी कमिटी बनाउने सहमतिसहितको प्रतिवेदन कार्यदलले बुझाएको थियो । सो प्रतिवेदनमाथि छलफल जारी रहेको र सबै नेताहरू संख्या बढाउनेतर्फ सहमत भएका बताइएको छ । केन्द्रीय कमिटीको संख्या ३ सय ५० सदस्यीय बनेपछि त्यसैअनुसारको एक तिहाइ पोलिटब्युरो र स्थायी कमिटी बन्नेछ । माओवादीबाट स्थायी कमिटीमा रहने नेताको दबाब बढेपछि मिलाउनकै लागि आकार बढाउन लागिएको हो ।
‘दुई अध्यक्षबीच ३ सय ५० सदस्यीय केन्द्रीय कमिटी बनाएर माओवादीको संख्या बढाउने सहमतितर्फ वार्ता उन्मुख छ, अबको वार्तामा निकास दिनुहुन्छ,’ माओवादीका एक नेताले भने । सोही निष्कर्षका आधारमा मंगलबार बसेको एकता संयोजन समिति बैठकले एकतामा देखिएको समस्या समधान गर्ने जिम्मा अध्यक्षद्वय ओली र दाहाललाई दिएको छ । केन्द्रीय समितिमा कति सदस्य राख्ने र कसले कति सिट पाउने भन्ने मुख्य विषयमा जारी विवाद एकता संयोजन समितिको बैठकमा नटुंगिएपछि दुई अध्यक्षलाई जिम्मेवारी दिइएको हो । राजनीतिक तथा विधान र संगठनात्मक कार्यदलले तयार पारेको प्रतिवेदनलाई अब दुई शीर्ष नेताले छलफल गरेर अन्तिम रूप दिई ३ सय ५० सदस्यीय केन्द्रीय कमिटी रहने व्यवस्था गर्नेछन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बिहान बोलाइएको एकता संयोजन समितिको बैठकमा अधिकांश विवादित भनिएका विषयमा छलफल भएको छ । छलफलका क्रममा विवादित बनेको पार्टीको चुनाव चिह्नका विषयमा सहमति जुटाउँदै नयाँ बन्ने ‘नेपाल कम्युनिस्ट पार्टी’ को चुनाव चिह्न सूर्य नै रहने निर्णय गरिएको छ । यसअघि, एमालेले सूर्य र माओवादी केन्द्रले ‘सूर्यभित्र हँसिया हथौडा’ चुनाव चिह्न राख्नुपर्ने अडान राखेका थिए । तर, माओवादीले मतदाताको भावना बुझेर आफूले भनेको चिह्न राख्दा आत्मघाती हुने निचोडका साथ सूर्य नै राख्ने सहमति जनाएको हो । एमाले महासचिव तथा एकता संयोजन समितिका सदस्य र्ईश्वर पोखरेलले चुनाव चिह्नको विषयमा कुनै विवाद नरहेको र सूर्य नै राख्ने निर्णय भइसकेको जानकारी दिए ।
विवादित विषयमा शीर्ष नेताबीच नै छलफल आवश्यक भएको निष्कर्ष निकालेपछि ९ वैशाखमा प्रस्ताव गरिएको पार्टी एकता भने केही पर सर्ने भएको छ । नेताहरूबीच बढीमा दुई साताभित्र एकता गर्ने सहमति भएको हो । यो सहमतिसँगै ९ वैशाखको एकता मिति पर धकेलिएको छ । एकताको मिति पनि ओली र दाहालले नै टुंगो लगाउने निर्णय मंगलबारको बैठकले गरेको छ । ‘९ वैशाखमा सम्भव देखिएन, दुई अध्यक्षले मितिबारे पनि निर्णय लिनेछन्, बढीमा दुई साताभित्र गर्ने कुरा भएको छ,’ समितिका अर्का सदस्यले भने । माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले छलफल सकारात्मक दिशामा अघि बढेको भन्दै नेताहरूको कार्यव्यस्तता तथा विवादित विषयमा थप छलफल आवश्यक रहेकाले कम्युनिस्ट पार्टी स्थापनाको अवसर पारेर गर्ने भनिएको एकता पछि सार्नुपरेको जानकारी दिए ।
कार्यदलको प्रतिवेदनलाई दुई शीर्ष नेताले अन्तिम रूप दिएपछि संयोजन समितिको बैठक बसी मिति घोषणा गर्ने उनको भनाइ छ । एकीकृत पार्टीमा रहने केन्द्रीय समितिको संख्या, पार्टीको विधानमा जनयुद्ध शब्द राख्ने÷नराख्ने भन्ने विषयमा पछिल्लो समय दुई दलबीच विवाद देखिँदै आएको छ । माओवादी केन्द्रले केन्द्रीय समितिमा रहने अनुपात ५०÷५० हुनुपर्ने माग गर्दै आए पनि त्यस विषयमा एमालेले असहमति जनाउँदै आएको छ । एमालेले व्यक्तिको योग्यता, क्षमता, पृष्ठभूमि र आवश्यकताका आधारमा जिम्मेवारी दिइनुपर्ने बताउँदै आएको थियो । पछिल्लोपटक माओवादीको बाध्यता बुझेर एमाले अध्यक्ष ओलीले दुई चार जना तलमाथि भएर केही हुन्न भन्दै संख्यामा हदैसम्मको लचकता अपनाएका छन् ।
प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीले ‘एकतामा कसैको चित्त नदुखोस्, संख्या बढाएर भए पनि मिलाऊँ’ भनेपछि दाहालले ‘तपाईंमाथि शंका गर्नु बेकार रहेछ, आजबाट शंका गर्दै गर्दिन’ भन्दै सुखी प्रकट गरेका थिए । स्रोतका अनुसार माओवादीलाई मिलाउन विगतमा भएको सहमतिभन्दा केही बढी संख्या दिनेमा एमालेभित्र लगभग सहमति जुटेको छ । मंगलबारको एकता संयोजन समितिको बैठक र त्यसअघि सोमबार दुई अध्यक्षबीच भएको वान टु वान वार्ताको निचोडका आधारमा अब एकता प्रक्रियाको टुंगो लाग्ने भएको हो । स्रोतका अनुसार अध्यक्षद्वयले केन्द्रीय कमिटीको आकार, राजनीतिक प्रतिवेदन र विधान मस्यौदा कार्यदलको प्रतिवेदनमा नमिलेको कुरा र एकता महाधिवेशनका कार्यविधिको समेत टुंगो लगाउनेछन् । ‘एकता महाधिवेशनको कार्यविधिसमेत दुई अध्यक्षले टुंगो लगाउनेछन्, महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयन गर्न यो कार्यविधि बनाउन लागिएको हो,’ समितिका ती सदस्यले भने । जनताटाइम्स बाट साभार










