खानेपानी मन्त्रालयको जिम्मेवारी पाएपछि खानेपानीमन्त्री बिना मगरले दसैँअघि मेलम्चीको पानी उपत्यकावासीले उपभोग गर्न पाउने घोषणा गरेकी छिन् । योसँगै उनको घोषणालाई लोकप्रियताका लागि गरिएको भाषण भनेर खण्डन भएको छ । तर, उनी यसलाई स्वाभाविक मान्छिन् । भन्छिन्, ‘अघिका नेताहरूले काम गर्छु भनेर नगरेका उदाहरणले गर्दा मैले बोलेको कुरा जनताले शंका गर्नु स्वाभाविक हो । तर, म उहाँहरूको यो शंकालाई यथार्थ हुन नदिन लागिपरेकी छु ।’

खानेपानीमन्त्री बिना मगर ११ वर्षकै उमेरदेखि राजनीतिमा सक्रिय भएकी हुन् । २०५१ सालमा तत्कालीन नेकपा (माओवादी)मा बाल कलाकारका रूपमा प्रवेश गरेकी बिनाको राजनीतिक यात्रा सहज थिएन । उनी बोलेरभन्दा कार्यान्वयन गरेर देखाउनमा विश्वास गर्छिन् । विद्यार्थी राजनीति गर्दा अखिल (क्रान्तिकारी) को जिल्ला कोषाध्यक्ष हुँदै २०५६ मा अखिल नेपाल महिला संघ (क्रान्तिकारी) कञ्चनपुर अध्यक्ष भएकी बिना विद्यार्थीका हकअधिकारका लागि धेरै संघर्ष गरेको बताउँछिन् । यहीक्रममा रत्नराज्य क्याम्पसको स्ववियु सदस्यसमेत भइन् । जनयुद्धका क्रममा जेल जीवन बिताएकी बिनाले २७ महिना भैरवनाथ गणमा चरम यातना भोगिन् । काठमाडौंमा माओवादी आन्दोलनमा सक्रिय रहेकै वेला २०६० सालमा उनलाई तत्कालीन शाही नेपाली सेनाले गिरफ्तार गरेको थियो । सहयोद्धासँगै बेपत्ता पार्न लैजाने क्रममा ट्रकमा अट्ने ठाउँ नभएपछि संयोगवश ब्यारेकमै छुटेर बाँच्न सफल भएको बताउँछिन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

२०६० मा अखिल (क्रान्तिकारी) काठमाडौं जिल्ला अध्यक्षको जिम्मेवारी सफलतापूर्वक निभाएपछि मगरले ६४ सालमा फेरि अर्को कार्यकालको जिम्मेवारीसमेत सफलतापूर्वक निभाइन् । योसँगै उनी पार्टीको केन्द्रीय सदस्यसमेत बनिन् । हाल उनी पार्टीको पोलिटब्युरो सदस्य छिन् । ०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा कञ्चनपुर क्षेत्र नम्बर १ बाट थोरै मतान्तरले पराजित भएकी बिनाले ०७४ को प्रतिनिधिसभामा जित हात पारिन् ।

सशस्त्र युद्धदेखि राजनीतिमा सक्रिय बिना पार्टीले दिएको अघिल्ला जिम्मेवारी सफलतापूर्वक निभाएकाले प्रतिनिधिसभा सदस्यको टिकट पाउन सहज भएको बताउँछिन् । भन्छिन्, ‘मैले पाएको जिम्मेवारी इमानदार भएर सफलतापूर्वक पूरा गरेकी छु । त्यसले गर्दा टिकट पाउन सहज भयो ।’ फलस्वरूप ०७४ मा प्रतिनिधिसभा सदस्यको निर्वाचनमा सोही क्षेत्रबाट दोब्बर मतसहित निर्वाचित भइन् । जितसँगै उनले एउटा इतिहास बनाएको दाबी गर्छिन् । भन्छिन्, ‘कञ्चनपुर जिल्लाबाट महिला उम्मेदवार भएर जितेको इतिहास छैन । त्यो इतिहासलाई मैले रचेकी छु । अब उहाँहरूको विश्वासलाई खेर जान दिनेछैन ।’ महिलालाई नेतृत्व दिनै नचाहने पुरुषवादी मानसिकता अझै पनि सबै पार्टीमा हाबी छ । उनीसँगै अन्य महिला जसले प्रत्यक्षमा चुनाव लडेर जिते यसले सबै पार्टी नेतृत्वको पुरुषवादी मानिसकतासमेत पराजित भएको उनको भनाइ छ । अब पाएको जिम्मेवारीलाई सफलतापूर्वक निर्वाह गर्ने उनी बताउँछिन् ।

उनले खानेपानी मन्त्रालयको जिम्मेवारी पाएसँगै जनतालाई स्वच्छ, स्वस्थ्य र पर्याप्त खानेपानी उपलब्ध गराउन खटिरहेको बताएकी छिन् । नयाँ क्षेत्र भएकाले आफ्नो क्षेत्राधिकार, जिम्मेवारीबारे बुझेर काम गरिरहेको जानकारी दिएकी छन् । भन्छिन्, ‘जनताको प्रश्नको उत्तर दसैँअघि नै मेलम्चीको पानी ल्याउन सचिवज्युलगायत हामी सबै लागिरहेका छौँ ।’ यसका लागि हरेक दिन कार्यप्रगतिको रिपोर्ट लिँदै थप चुस्त, दुरुस्त बनाइरहेको जानकारी दिइन् । मेलम्चीको पानी ल्याएर जनतालाई खुसी पार्न आतुर रहेको उनले बताइन् ।