सुशासन कायम गर्न भन्दै महोत्तरीको भंगाहा नगरपालिकाका मेयर सञ्जीवकुमार साहले कार्यालयमा अनुपस्थित हुने आफ्नै सासूलाई कारबाही गरेका छन् ।
छड्के अनुगमनका क्रममा भंगाहा– ५ सीतापुरस्थित स्वास्थ्यचौकीमा कार्यरत सासू उषादेवी साह दुईदिन कार्यालयमा उपस्थित नभएको पाइएपछि उनले हाजिरीमा रातो मसीले गयल गराएर कारबाही गरेका हुन् ।
‘घरमा आएपछि विवाद त भयो, तर कि तपाईं समयमा कार्यालय जानुपर्यो, होइन भने हामी दुईमध्ये एकले त राजीनामा दिनैपर्छ भनेर सम्झाएँ,’ साहले भने, ‘यदि मैले आफ्नै सासूलाई कारबाही नगरेको भए अन्य कर्मचारीलाई चित्त बुझाउन सकिन्नथ्यो ।’
साहले आफ्नै कार्यालयका निमित्त प्रशासकीय अधिकृत सावनकुमार चौधरी, लेखापाल रामपरीक्षण पण्डित र नायब सुब्बा रामतेज भण्डारीलाई स्पष्टिकरण सोधेका छन् ।
‘२५ चैत २०७४ का दिन १० बजे कार्यालयमा हाजिर भई कार्यालय सञ्चालन गर्नुपर्नेमा १ घण्टा ४५ मिनेट ढिला गरी कार्यालयमा हाजिर भएको हुँदा तपाईंलाई स्पष्टिकरण सोधिएको छ,’ उनले कर्मचारीहरूलाई थमाएको स्पष्टिकरण पत्रमा भनिएको छ, ‘विगतमा पनि समयमा हाजिर नभएकाले पटक–पटक मौखिक संकेत गराउँदा समेत अटेरी गर्नुको कारण के हो ? तपाईंलाई निजामति नियमावलीबमोजिम कारबाही किन नगर्ने ?’
लोकान्तर










