चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले दुई देशको तीव्र आर्थिक विकासका लागि सामूहिक सहकार्यमा जोड दिएका छन् । दुई देशले सहकार्यका क्षेत्र पहिचान गरेर सामूहिक रूपमा काम गर्नुपर्नेमा जोड दिए ।
बिहीबार चाइना रिफर्म फोरमले बेइजिङमा ‘२१ औं शताब्दीमा नेपाल-चीन सम्बन्ध’बारे आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा मन्त्री ज्ञवालीले दुवै देशको विकासका लागि सहकार्य गर्नुपर्ने पाँच क्षेत्र सुझाए । उनले भने, ‘दुवै देशले अब सामूहिक सहकार्यका क्षेत्र पहिचान गरेर काम गर्नु आवश्यक छ ।’
मन्त्री ज्ञवालीले यातायात र कनेक्टिभिटी, कृषि, उद्योग र प्रविधि हस्तान्तरण, मानवीय सम्भावना, प्राकृतिक स्रोत र वातावरणका साथै व्यापार र लगानीमा दुवै देशले सहकार्य गर्नुपर्ने खाँचो औंल्याए ।
दुई वर्षअघि प्रधानमन्त्री केपी शर्मा ओलीले चीनसँग सहज पहुँचका लागि यातायातमा जोड दिएको उल्लेख गर्दै मन्त्री ज्ञवालीले भने, ‘विश्वको दोस्रो ठूलो अर्थतन्त्रसँग पूर्वाधार अभावका कारण व्यापार, उद्योग र जनता-जनताबीचको सम्बन्धमा कठिनाइ भएको महसुस नेपालले गरेको हो । त्यसैले नेपाल रेल, सडक, ऊर्जा, दूरसञ्चार, हवाईमार्गबाट चीन हुँदै अन्तर्राष्ट्रिय जगतसँग जोडिन चाहन्छ ।’ उनले चीनसँगको सहज यातायात पहुँचले नेपालको आर्थिक विकासमा महत्वपूर्ण योगदान दिने बताउँदै हिमालय वारपार बहुआयामिक यातायात सञ्जालमा दुवै देशबीच सहमति भएको बताए ।
ज्ञवालीले नेपालको दुईतिहाइ जनसंख्या कृषिमा निर्भर रहे पनि कृषिमा परनिर्भरता रहेको बताए । उनले कृषिसम्बन्धी चिनियाँ प्रविधि र अनुभव नेपालका लागि महत्वपूर्ण हुने उल्लेख गरे, अन्नपूर्ण पोस्टमा खबर छ ।










