नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेसँगको पार्टी एकताबाट पछि हट्न नसकिने बताएका छन् ।

प्रचण्डले आफ्नो ट्वीटरमा दुई पार्टीका अध्यक्षबीच सौहार्दपूर्ण वातावरणमा कुराकानी भएको र सो कुराकानीलाई भोलि पनि निरन्तरता दिइने बताए । दुबै पार्टीका कार्यदलले बुझाएको पार्टी एकता सम्बन्धी प्रतिवेदनमाथि आजको छलफल सकिएको प्रचण्डले बताएका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

दुवै नेताको भेटपछि प्रचण्डले भने, ‘दुबै पार्टीका कार्यदलले बुझाएको पार्टी एकता सम्बन्धी प्रतिवेदनमाथि आजको छलफल सकिएको छ । दुबै अध्यक्षहरुबीच आज सौहार्दपूर्ण छलफल भयो । छलफललाई भोलि पनि निरन्तरता दिइने छ ।’

आजको छलफलमा कुनैपनि ठोस उपलब्धि भएको छैन । एमाले र माओवादी पार्टीको एकताका विषयमा छलफल गर्न शुक्रबार दुई नेताको भेट भएको थियो ।

एमाले नेताहरुको कार्यशैलीका कारण केही संशय पैदा भए पनि त्यसलाई समाधान गर्न आफू क्रियाशिल रहेको प्रचण्डले बताए ।

‘पार्टी एकता नहुँदै त यस्तो व्यवहार देखाउँछन्, भइसकेपछि झन् कस्तो होला ?’ प्रचण्डको भनाइ उद्धृत गर्दै भेटमा सहभागी एक व्यक्तिले भने, ‘केही द्विविधा र शंकाहरु छन्, त्यसको निवारणको प्रयास गरिरहेको छु ।’

एमाले र माओवादीबीच यसअघि वैशाख ९ गते लेनिन जयन्ती तथा नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसको दिन एकता घोषणा गर्ने भनिएको थियो तर, त्यो सम्भावना टरिसकेको नेताहरुले बताएका छन् ।

एमाले र माओवादीबीच चुनाव चिह्न के राख्ने, विधानको प्रस्तावनामा जनयुद्ध शब्द राख्ने कि नराख्ने र केन्द्रीय समितिमा दुवै पार्टीका कति–कति सदस्य रहने भन्ने विषयमा कुरा मिलेको छैन ।