काठमाडौं । प्रधानमन्त्री केपी ओलीले प्रधानमन्त्री कार्यालयअन्तर्गत रहने गरी अध्ययन र अनुसन्धान गर्दै नीतिगत सुझाब दिने शक्तिशाली अध्ययनरअनुसन्धान संस्था थिंकट्यांक गठनको गृहकार्य अघि बढाएका छन् । यस्तो निकायले अमेरिका, भारतलगायतका मुलुकमा जस्तै सरकारलाई सुझाब दिनेछ ।
थिंकट्यांक गठनका लागि ओलीले एक महिनाअघि विभिन्न क्षेत्रका एक दर्जन विज्ञसँग परामर्शसमेत गरिसकेका छन् । प्रारम्भिक गृहकार्य सकिएपछि थिंकट्यांक गठनका लागि ऐनको मस्यौदा बनाउने प्रधानमन्त्री ओलीको योजना छ । नयाँ पत्रिका दैनिकमा खबर छ ।
तीन सल्लाहकार दुई स्वकीय सचिव
प्रधानमन्त्री ओलीले अहिलेसम्म तीन सल्लाहकार मात्र नियुक्त गरेका छन् । एमाले पोलिटब्युरो सदस्य विष्णु रिमाल मुख्य सल्लाहकार छन् । प्रधानमन्त्रीसँग समन्वय गर्दै अन्य सल्लाहकारलाई पनि निर्देशन दिने काम रिमालले नै गर्छन् । त्यस्तै, प्रेस सल्लाहकारमा डा। कुन्दन अर्याल र जनसम्पर्क सल्लाहकारमा पूर्वसांसद अच्युत मैनाली नियुक्त गरिएका छन् ।
स्वकीय सचिवालयको नेतृत्व राजेश बज्राचार्यले सम्हालेका छन् । उनी लामो समयदेखि ओलीको सचिवालयमा थिए । उनलाई सहयोग गर्ने गरी झापाका दीपेन्द्र दाहाल उपस्वकीय सचिवको जिम्मेवारीमा छन् । सरकारमा २२ मन्त्री भए पनि सरकार सञ्चालनबारे प्रधानमन्त्री ओलीले परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, अर्थमन्त्री डा। युवराज खतिवडा र सञ्चार राज्यमन्त्री गोकुल बाँस्कोटासँग परामर्श गर्छन् ।
भारतीय प्रधानमन्त्री मोदीको कार्यालय व्यवस्थापन कस्तो छ ?
भारतले प्रधानमन्त्री कार्यालय व्यवस्थापनका लागि दुईवटा मुख्य संरचना बनाएको छ । एउटा प्रधानमन्त्रीको निजी सचिवालय र अर्को मन्त्रिपरिषद् सचिवालय । प्रधानमन्त्री सचिवालयले मुख्यतः प्रधानमन्त्रीको दैनिकीलाई सहज र व्यवस्थित गर्छ । प्रधानमन्त्रीको आन्तरिक भ्रमण तय गर्ने, भ्रमण योजना बनाउने र समय व्यवस्थापन गर्ने गर्छ ।
प्रधानमन्त्रीले गर्ने महत्वपूर्ण भाषण र विभिन्न घोषणापत्रको मस्यौदा पनि यही सचिवालयले तयार गर्छ । यो सचिवालयमा निजामतीतर्फका दुई सचिवले नेतृत्व गरेका हुन्छन् । कार्यसम्पादनका लागि पाँच सहसचिव खटिएका हुन्छन् । राज्यका विभिन्न अंगहरूसँग समन्वय गर्न करिब चार सय कर्मचारी नियुक्त गरिन्छन् ।
मन्त्रिपरिषद् सचिवालय शक्तिशाली निकाय हो । क्याबिनेट सचिवको नेतृत्वमा रहने यो सचिवालयलाई भारत सरकारको मुख्य अंगको रूपमा पनि बुझिन्छ । सरकारका लागि महत्वपूर्ण र उच्चतम् तहका नीति बनाउने र कार्यान्वयन प्रक्रियामा लैजाने काम यही सचिवालयले गर्छ । प्रशासनिक क्षेत्रमा आवश्यक निर्देशन दिने र व्यवस्थापनको काम पनि गर्छ । प्रधानमन्त्रीको प्रमुख सुरक्षा सल्लाहकार पनि यसै सचिवालयमातहत रहने गर्छ । विपद् व्यवस्थापनमा पनि यही सक्रिय रहन्छ । जनता समाचार बाट










