नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय बैठकले सबै नेता कार्यकर्तालाई एकताप्रक्रियाबाट बिचलित नहुन आग्रह गरेको छ । एकता प्रक्रिया भाडिन लागेको हो कि भन्दै सर्वत्र चर्चा चलिरहेका बेला कम्युनिष्ट पार्टीको स्थापना दिवसकै दिन बसेको केन्द्रीय कार्यालयको बैठकले सबैलाई आ आफ्नो ठाउबाट सहयोग गर्न अपिल समेत गरेको छ ।

अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटारमा बसेको बैठकले एकतामा ठुलो समस्या नरहेको भन्दै चाडै एकता गर्ने निर्णय समेत गरेको छ । बैठकमा अध्यक्ष दाहालले पार्टी एकतामा हालसम्म भएको प्रगतिबारे र आज राजधानीमा हुने विशेष समारोहबाट गरिन लागिएको घोषणाका बारेमा जानकारी गराउनु भएको थियो । नेताको व्यवस्थापन नै अहिले एमाले माओवादी केन्द्रको टाउको दुखाईको विषय बनेको छ । सैद्धान्तिक विषयमा त्यति ठुलो विवाद नरहेको प्रचण्डले बैठकमा बताएको एक नेताले जानकारी दिएका छन् । बैठकपछि प्रवक्ता पम्फा भुसालले भनिन्, ‘ठ्याक्कै तिथि तोक्न सकिन्न । अलिकति टाइम लेला, तर एकता अनिवार्य छ ।’

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यसैविच, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले देशका सम्पूर्ण कम्युनिष्ट क्रान्तिकारीहरुलाई एकता र ध्रुवीकरणको अभियानमा लामबद्ध हुन अपिल गरेका छन् । लेनिनको १४८ औैं जन्मजयन्ती तथा नेपाल कम्युनिष्ट पार्टीको ६९ औं स्थापना दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रचण्डले उक्त आह्वान गरेका हुन् ।

प्रचण्डले जारी गरेको सन्देशमा लेखिएको छ, ‘पार्टी स्थापना दिवस र लेनिन जयन्तीको यो ऐतिहासिक अवसरमा हाम्रो पार्टी देशका सम्पूर्ण कम्युनिष्ट क्रान्तिकारीहरु र वामपन्थी प्रगतिशील शक्तिबीच एकता र ध्रुवीकरणको अभियानमा लामबद्ध हुन तथा समाजवादको आधार निर्माणको ऐतिहासिक अभियानमा सहभागी हुन हार्दिक अपील गर्दछ ।’ लेनिनको जन्म जयन्तीको अवसर पारेर आजभन्दा ६९ वर्ष पहिले २००६ सालमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको थियो । प्रचण्डले संविधानको सफल कार्यान्वयनका लागि समाजवादी आन्दोलनको आधार तयार पार्ने अहिलेको मुख्य अभिभारा भएको बताएका छन् ।

कम्युनिष्ट पार्टीहरुबीचको एकीकरण र समाजवादको आधार निर्माणका निम्ति संविधान कार्यान्वयनसँगै देशको आर्थिक समृद्धिका लागि लेनिनले तत्कालिन सोभियत संघमा पुर्‍याएको योगदान स्मरण गर्दै प्रचण्डले भनेका छन्- संविधानको सफल कार्यान्वयनका लागि समाजवादी आन्दोलनको आधार तयार पार्ने अहिलेको हाम्रो मुख्य अभिभारा हो । नेपाली जनताले सामााजिक न्यायसहितको समृद्धिको नयाँ युगको अपेक्षा गरेको भन्दै प्रचण्डको सन्देशमा लेखिएको छ- स्थानीय तह, प्रादेशिक र संघीय निर्वाचन सम्पन्न गरी देश अहिले स्थिरता, सुशासन र विकासको व्यवहारिक अभ्यासको चरणमा छ । यो समाजवाद उन्मुख संविधान कार्यान्वयनको पहिलो खुट्किलो हो । जनता टाइम्स बाट