घरायसी झगडा मिलाउन पुगेका प्रहरी हवल्दारमाथि कुटपिट भएको छ । सुनसरीको इटहरी उपमहानगरपालिका–४ मनकामना चोकमा गए राति घरायसी झगडा मिलाउन पुगेका प्रहरी हवल्दार अर्जुन भुजेलमाथि स्थानीय ३ जनाले कुटपिट गरेको हो ।

कुटपिटबाट प्रहरी हवल्दार भुजेलको बायाँ हात भाँचिएको छ । मनकामना चोकमा निशान राई र उनकी पत्नी सरिता राईबीच झगडा भएको खबर पाएपछि प्रहरी कार्यालय इटहरीको टोली घटनास्थल पुगेको थियो । प्रहरी हवल्दारमाथि कुटपिटमा संलग्न तीन जनामध्ये एक जनालाई प्रहरीले पक्राउ गरेको छ, भने दुई जनाको खोजी कार्य भइरहेको प्रहरी कार्यालाय इटहरीले जनाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

कुटपिटमा संलग्न ईटहरी–४ का २१ वर्षीय शुक्र राईलाई पक्राउ गरिएको छ भने, घटनामा संलग्न इटहरी–४ का २१ वर्षीय निशान राई र १९ वर्षीय संघर्ष राई फरार रहेकाले खोजी कार्य भइरहेको छ । प्रहरी हवल्दारमाथि स्थानीय तीन जना युवाले कुटपिट गर्नुका साथै बा २ ब १३५९ नम्बरको मोटरसाइकल समेत तोडफोड गरेका थिए । घाइते हवल्दार भुजेलको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।