काठमाडौं । नेकपा माओवादी केन्द्र केन्द्रीय कार्यालयको आइतबारको विस्तारित बैठकले नेकपा एमाले र माओवादी केन्द्रबीचको बैठक सकारात्मक रुपमा अगाडि बढेको जनाएको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा आज बसेको बैठकमा अध्यक्षले पार्टी एकताको पछिल्लो अवस्थाबारे जानकारी दिनुभएको थियो । बैठकमा कार्यालय सदस्यले एकताका विषयमा अध्यक्ष दाहाललाई सुझाव दिनुभएको थियो । बैठकपछि पत्रकारसँग कुरा गर्दैै पार्टी प्रवक्ता पम्फा भुसालले एकताका लागि समय लिइने बताउनुभयो । दुई पार्टी मिलाएर एकता भई नयाँ पार्टी बन्ने विषयमा हतारिन नहुने उल्लेख गर्दै उहाँले भन्नुभयो, “यही मितिमा हुन्छ भनेर तिथि तोक्न सकिन्न ।”

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्रवक्ता भुसालले पार्टी एकता संयोजन समितिले दिएको प्रतिवेदनबारे दुई अध्यक्षबीच भएका छलफलका विषयमा अध्यक्षले बैठकलाई जानकारी दिनुभएको बताउनुभयो । राजनीतिक र सांगठनिक विषयमा छलफल सकारात्मक रुपमा अगाडि बढेको बताउँदै उहाँले भन्नुभयो, “दुवै पार्टीका नेता, कार्यकर्ता र जनताको भावना र राष्ट्रिय आवश्यकताअनुसार पार्टी एकता सुनिश्चित गर्नेतर्फ प्रक्रिया अगाडि बढेको छ ।” जनता समाचार बाट