काठमाडौं। बाणिज्य बैंकहरुबीच थप एक महिना मुद्दति निक्षेपको ब्याज दर ११ प्रतिशतमै कायम राख्न सहमति भएको छ। बैंकर्स संघमा २८ वटै बाणिज्य बैंकका प्रमुख कार्यकारी तथा प्रतिनिधिहरुबीच भएको छलफलमा ११ प्रतिशतको निर्णय अर्को एक महिनालाई निरन्तरता दिने सहमति भएको हो।

राष्ट्र बैंकका अधिकारीहरुले बैंकहरुमा फ्यालाफ्याल तरलता भएको सार्बजनिक अभिब्यक्तिद दिइरहेका छन्। संघमा सुरुमै एक प्रमुख कार्यकारीले प्रश्न उठाए- बैंकहरुमा फ्यालाफ्याल तरलता भए ११ प्रतिशतको सहमतिलाई पुनरावलोकन गर्नु पर्छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

त्यसपछि पालैपालो कसको तरलता कस्तो छ भनेर सोधियो। सबै बैंकका प्रमुख कार्यकारी तथा प्रतिनिधिले 'हामी टाइटमै छौं। ऋण दिन पाएको छैन' भनेर उत्तर फर्काए।

'त्यसो भए ११ प्रतिशतको सहमति अनुसारनै चल्नु पर्ने देखियो। निक्षेपको ब्याज बढाए ऋणको पनि बढ्न थाल्छ। बजारमा अस्थिरता देखिन्छ। प्रणालीगत जोखिम बढ्छ' भन्ने कुरा प्रमुख कार्यकारीहरुले गर्न थाले। त्यही छलफलका आधारमा थप एक महिना ११ प्रतिशत ब्याज नै कायम राख्ने निर्णय भएको हो।

छलफलमा ठूला बैंकहरुले कर्जा-पूँजी-निक्षेप अनुपात (सिसिडी रेसियो) कायम गर्न ११ प्रतिशतको सीमा सबैलाई लगाइए पनि कतिपयले यसबाट फाइदा उठाउँदै ऋण बिस्तार गरिरहेको गुनासो गरे। 'सबै बैंक सहज अवस्थामा हुन् भनेर ११ प्रतिशतको सिलिङ तोकिएको हो' छलफलमा उठेको बिषय बारे एक बैंकरले भने, 'तर बाँडिएको निक्षेप लिएर लगानी बढाउँदा हामीलाई सहज हुँदैन। त्यस बेला ११ प्रतिशतको सीमा तोक्नु बेकार हुन्छ भन्ने कुरा ठूला बैंकका सिइओहरुले गर्नु भयो।'

साना बैंकहरुले पनि ११ प्रतिशतको ब्याज दर बारे गुनासो राखेका थिए। साना बैंकहरुले सबै बैंकको ब्याज बराबरी हुँदा निक्षेपकर्ताले पुरानो र ठूलोमा मात्रै पैसा राख्ने गरेकाले केही सहुलियत दिन माग गरेका थिए। 'ठूलामा मात्रै पैसा जान थाल्यो। संस्थागत निक्षेपकर्ताले पनि ठूलै बैंकमा राख्न थाले' एक बैंकरले भने, 'त्यस बारेमा पनि केही छलफल हुन आवश्यक छ भनेर साना बैंकका सिइओहरुको कुरा उठाएका थिए।'

चैत मसान्तपछिको अवस्था बैंकहरुमा के छ भन्ने बारेमा कुराकानी गर्न बैठक डाकिएको कार्यसमितिका एक सदस्यले जानकारी दिए। वित्तीय विवरण प्रकाशित गर्नेमध्ये अधिकांसले राम्रै वासलात देखाएकाले अबको दिन कस्तो हुन्छ भनेर पनि छलफल गर्न खजिएको उनले जानकारी दिए।

चैत मसान्तपछि अब कसरी बढ्ने र तरलता अभावको समस्याले कुन कुनलाई गाँझिएरहेको छ भन्ने बुझ्न पनि बैठक डाकिएको थियो। 'बैशाखमा नेपाल वायुसेवा निगमको जाहाज खरीद गर्नका लागि करिव १४ अर्ब रुपैयाँ बैंकबाट बाहिरिँदैछ' ती बैंकरले भने, 'त्यसले सिसिडीमा केही न केही असर गर्छ। त्यही भएर अहिले जजसलाई सहज भए पनि दुई चार दिनमै अप्ठेरो पनि पर्न सक्छ भन्ने एक खाले विश्लेषण पनि बैठकमा भयो।'

बैठकमा ११ प्रतिशतको सीमाले कसैलाई घाटा नभएको बरु समग्र अर्थतन्त्रलाई नै फाइदा पुगेको विश्लेषणसमेत गरिएको थियो। 'त्यसो हुँदा अझै एक महिना ११ प्रतिशतमै टिकेर जाउँ भन्ने कुरा भयो' ती बैंकरले भने, 'सबै जना सहमत छन्।' उनले बैठकमा सानातिना गुनासा मात्र उठेको बताए।बिजमान्डु