खानेपानी मन्त्री बिना मगरले विद्यार्थी भर्ना राष्ट्रिय अभियान अन्तर्गत कञ्चनपुरका ३ बालबालिकाको शैक्षिक अभिभावकत्व ग्रहण गर्दै विद्यालय भर्ना गराएकी छन् ।

सरकारले देशैभरि सञ्चालन गरेको राष्ट्रिय अभियानमा सहभागिता जनाउन कञ्चनपुर पुग्दै मन्त्री मगरले बेलौरी नगरपालिका र बेल्डाडी गाउँपालिकाका ३ विद्यार्थीलाई भर्ना गराएकी हुन् । मन्त्री मगरले बेलौरी नगरपालिका-१० शिवनगरस्थित शिद्धेश्वर माविमा सन्दिप चौधरीलाई ७ कक्षामा, बेलौरीकै पुष्पलाल जनजागृति माविमा आदित्य चौधरीलाई ५ कक्षामा र बेल्डाडी गाउँपालिकाको शिद्धनाथ माविमा प्रकाश गिरीलाई १ कक्षामा भर्ना गराइन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

शिवनगरको शिद्धेश्वर माविमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मगरले अभिभावकत्व ग्रहण गर्ने अभियान सन्देशात्मक भएको बताइन् । `भर्ना अभियानले गाउँगाउँ र वडावडामा जागरण पैदा गरेको छ,´ उनले भनिन्, `सरकारको भर्ना अभियानलाई सफल बनाउन सबैले बालबालिकाको अभिभावकत्व ग्रहण गर्नुपर्छ ।´ गरिब र सबै वर्गका बालबालिकालाई शिक्षाको पहुँचमा पुर्याउन सरकारले अभियान थालेको उनले बताइन् ।

`समृद्ध नेपाल निर्माणको अभियानलाई सार्थक बनाउन विद्यार्थी भर्ना अनिवार्य हुन्छ,´ मन्त्री मगरले भनिन्, `शिक्षालाई रोजगारमुलक बनाएर समृद्धि ल्याउन सकिन्छ ।´ विद्यार्थी भर्ना अभियान सरकारको मात्र नभई सबै जनताको भएको उनकाे भनाइ छ ।