काठमाडौं, ११ वैशाख । नेपालीहरुमा अमेरिका मोह पनि अचम्मैको छ । अमेरिका पुगेपछि स्वर्ग नै पुगेजस्तो जीवन नै अर्कै हुन्छ भन्ने भ्रम छ । त्यसकारण नेपाली मानसिकता अमेरिका पुग्नका लागि जे पनि गर्न तयार हुन्छन् ।
काठमाडौंको एक परिवारले आफ्नी छोरीलाई अमेरिका पठाउन गरेको हर्कत देखेर प्रहरी अधिकारीहरु समेत चकित भएका छन् । डिभी परेको एक केटासँग नक्कली बिहे गराएर १७ वर्षकी छोरीलाई अमेरिका पठाउन खोज्दा एक परिवारको ठूलो बेइज्जती त भएको छ नै, साथै छोरीसमेत हिरासतमा पुगेकी छिन् ।
बिशालनगर बस्ने एक निम्न मध्यम स्तरको आर्थिक अवस्था भएको परिवारको कथा हो यो । १७ वर्षिय सरु खड्का भर्खरै प्लट टू पढ्दै थिइन् । उनको आमालाई जसरी पनि छोरीलाई अमेरिका पठाउने रहर थियो । उनी छोरीलाई अमेरिका पठाएर छरछिमेक र समाजमा सान बढाउन चाहन्थिइन् ।
छिमेकमा बस्ने विवेक कार्कीले उनको अमेरिका मोह थाहा पाए । आफ्नो साथीलाई डिभी परेको र उसँग नक्कली बिहे गरेर सजिलै अमेरिका पठाउन सकिने कुरा उनले बताए । उनी जसरी भए पनि अमेरिका जान तयार भइन् । त्यसका लागि ३१ लाख रुपैयाँको डिल भयो । खड्का परिवारसँग पैसा थिएन । तर, पनि घर बैंकमा राखेर पैसा निकालेर दिएका थिए ।
कार्की र उनका साथी विवेक नेपालले खड्का परिवारबाट ३१ लाख लिएर छोरीलाई अमेरिका पठाउने ठेक्का लिएका थिए । त्यसमध्ये ५ लाख डिभी परेका रेशमबहादुर केसीलाई दिए । बाँकी २६ लाख रुपैयाँ आधा– आधा राखे । पैसा बुझाएपछि सरु भिसाका लागि अन्तर्वार्ता दिन अमेरिकन दूतावास गइन् । श्रीमानको भिसा छ भने अमेरिकाले श्रीमतीलाई डिपेन्डेन्ट भिसा दिन्छ । अन्तर्वार्ताको क्रममा नेपालमा सबैभन्दा धेरै ‘क्रस’ प्रश्न सायद अन्य दूतावासहरुमा भन्दा अमेरिकन दूतावासमा सोधिन्छ ।
सुरुमा उनले आफूहरु श्रीमान श्रीमती नै भएकोले अमेरिका जान लागेको बताइन् । क्रस प्रश्नहरु बढ्दै जाँदा उनलाई रिस उठ्यो र अमेरिका जानका लागि मात्र बिहेको नाटक गरेको बताइन् । दूतावासका अधिकारीलाई शंका लाग्यो र प्रहरीमा खबर गरे । प्रहरीले उनीहरुको विवाह दर्ता प्रमाणपत्रबाट अनुसन्धान अघि बढायो । जुन नक्कली भएको पुष्टि भएपछि सरुसहित चारै जनालाई गत बिहीबार पक्राउ गरेको छ । सरुलाई नक्कली कागज बनाएको अभियोग लागेको छ ।
भिसा पाइसकेका केसीको अमेरिका सपना पनि ५ लाखको लोभमा चकनाचुर भएको छ । केसीको श्रीमती र बच्चा छन् । तर, सरुलाई लिएर उनी अमेरिका जान लागेका थिए । सम्भवत भिसा लागेपनि दुतावासले उनलाई अमेरिका जान दिदैन । यो एउटा प्रतिनिधि घटना मात्र भएको प्रहरी अधिकारीहरु बताउँछन् । डिपेन्डेन्ट भिसा लाखौं खर्च गर्ने र नक्कली बिहे गरेर अमेरिका, अष्ट्रेलिया तथा क्यानाडा जाने धन्दा नेपालमा अहिले धेरै बढेको छ ।










