काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपति शमशेर राणाले सरकार निर्माणका बेला देखापरेको जनउत्साहले निरन्तरता पाउने संकेत नदेखिएको बताएका छन्। नयाँ वर्ष २०७५ को अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले भने, 'यद्यपि अहिले नै सरकारको बारेमा राप्रपा आलोचना गर्ने पक्षमा छैन।'

मुलुकको अनुहार फेर्ने काममा एकलव्य भएर समर्पित हुन प्रधानमन्त्रीलाई आग्रह गर्दै अध्यक्ष राणाले त्यसो भएको खण्डमा सरकारलाई सबै दलको सहयोग र समर्थन रहिरहने विश्वास व्यक्त गरे।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

वामपन्थी गठबन्धनबाट सिर्जना भएको चुनौतीको सामना गर्न लोकतान्त्रिक शक्ति सक्षम हुने बताउँदै उनले राप्रपाका सबै धारलाई एउटा सशक्त राष्ट्रवादी प्रजातान्त्रिक शक्ति निर्माणको अभियानमा सहभागी हुन आग्रह गरे।

'दलको अवस्था र मुलुकको स्थितिलाई मध्यनजर गर्दै मजबुत पार्टी संगठनको दायरालाई व्यापक र फराकिलो बनाउन अनिवार्य भएको छ,' अध्यक्ष राणाले भने।रासस