काठमाडौः सरकारले मन्त्री र कर्मचारीहरुलाई आफूखुसी विदेश भ्रमणमा जान प्रतिबन्ध लगाएको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले मन्त्रीहरु, सचिव तथा अन्य तहका कर्मचारीलाई पनि सरकारको अनुमति नलिई आफूखुसी विदेश जान नपाउने गरी प्रतिबन्ध लगाएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

‘मन्त्री र कर्मचारीहरु आफूखुसी गैरसरकारी संस्था र ठेकेदारहरुको परामर्शदाता बनेर विदेश जाने परिपार्टी अब बन्द भएको छ’, सूचना तथा सञ्चार राज्यमन्त्री गोकुल बासकोटाले अन्नपूर्णसँग भने, ‘अबदेखि परराष्ट्र मन्त्रलायको स्वीकृति नलिई सरकारी ओहदामा रहेका कसैले पनि विदेश भ्रमणमा जान पाउने छैनन् ।’

मन्त्री र कर्मचारीहरुले आफुखुसी विभिन्न संस्थाको परामर्शदाता बन्दै विदेश गएर लविङ गर्ने काममाथि सरकारले अंकुश लगाएको हो ।

‘अब सरकारी ओहदामा हुनेले गैसस तथा ठेकेदारहरुको पक्षमा लविङ गर्दै विदेश जान पाउने छैनन्’, मन्त्री बासकोटाले भने, ‘यो निर्णयसँगै आफूखुसी हुने वैदेशिक भ्रमणमा अंकुश लागेको छ ।

यसअघि गत फागुनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सरकारी कर्मचारीको सबै विदेश भ्रमण स्थगित गर्न कडा निर्देशन दिएको थियो । प्रधानमन्त्री कार्यालयले सबै मन्त्रालयका सचिव र अरु सरकारी निकायका प्रमुखलाई कडा निर्देशन पठाएको थियो ।

प्रधानमन्त्रीको कार्यालयको निर्देशनपछि चैतभित्र विदेश जाने तयारीमा रहेका करिब ३ सय ५० सरकारी कर्मचारीको विदेश भ्रमण स्थगित भएको थियो । कर्मचारीले विदेश जान नपाएपछि राज्यकोषको २१ करोड रुपैयाँ जोगिएको थियो ।