काठमाडौँ / शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिई) नेपालसहित विभिन्न ५२ संस्थाले यस वर्षको विश्वव्यापी कार्य सप्ताह मनाउने क्रममा सार्वजनिक विद्यालय सुधारका लागि एक हजार विद्यार्थीबाट पत्र संकलन गरी प्रधानमन्त्रीलाई हस्तान्तरण गर्ने भएको छ ।

आज यहाँ आयोजित पत्रकार सम्मेलनमा मूल आयोजक समितिले दिगो विकास लक्ष्यको ४ नं मा रहेको ‘जवाफदेहिता र नागरिक सहभागिता’ भन्ने मूल नाराका साथ यस वर्षको कार्यसप्ताह मनाउन लागिएको जनाइएको छ । नेपालमा सन् २००३ देखि शिक्षाको विश्वव्यापी अभियान (जिसिई) ले निर्दिष्ट गरेका विषयभित्र रही प्रत्येक वर्ष कार्य सप्ताह मनाउने गरिएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यही वैशाख ११ गते भद्रकालीबाट सार्वजनिक शिक्षाका पक्षमा प्रदर्शनी गरी शुरु हुने सप्ताहका क्रममा वैशाख १३ गते राजनीतिक संवाद गरिने, जिल्ला जिल्लामा शिक्षामा उत्तरदायित्व तथा नागरिक सहभागितासम्बन्धी मागसहित ज्ञापनपत्र दिने र सप्ताहको अन्त्यमा प्रधानमन्त्री, शिक्षामन्त्रीलाई ज्ञापनपत्र दिने कार्यक्रम रहेको एनसिई नेपालका अध्यक्ष कुमार भट्टराईले जानकारी दिनुभयो ।

सन् २०१५ मा नेपाललगायत विश्वका अधिकांश राष्ट्रले दिगो विकास लक्ष्य तथा सन् २०३० सम्मको शिक्षाका लागि कार्यढाँचा कार्यान्वयनका निम्ति प्रतिबद्धता जनाएका छन् । नेपालको संविधानले प्रत्येक बालबालिकाको निःशुल्क तथा अनिवार्य आधारभूत शिक्षाको हक सुनिश्चित गरेको छ ।