पूर्व–पश्चिम राजमार्गको कनकाई नगरपालिकास्थित दुर्गापुर सडकखन्डमा मंगलबार अपराह्न भएको सवारी दुर्घटनामा एक दम्पतीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा धनकुटाको देब्रेबास–४ निवासी ४२ वर्षीय राजेश श्रेष्ठ र ३३ वर्षीया उनकी श्रीमती पुष्पा श्रेष्ठ रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक राजेश राईले जानकारी दिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना७छ ८०१८ नम्बरको टिपरको ठक्करबाट उनीहरुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक श्रेष्ठ ससुरालीबाट श्रीमती लिएर घर फर्कंदै गरेको बताइएको छ ।

मृतक दम्पती झापाको पृथ्वीनगरबाट को१६प ४२०८ नम्बरको स्कुटरमा घर फर्कंदै गर्दा टिपरलाई उछिन्नेक्रममा टिपरले ठक्कर दिएको बताइएको छ ।

दुर्घटनामा संलग्न सवारीलाई इलाका प्रहरी कार्यालय सुरुंगाले नियन्त्रणमा लिएको छ । रासस