पथरी– सामुदायिक विद्यालयमा उत्साहका साथ विद्यार्थी भर्ना अभियान चलिरहेको बेला त्यसमा सहयोग पुर्याउँदै उर्लाबारी–९ का युवा सुन्दर श्रेष्ठले १० जना विद्यार्थीको पठनपाठनमा लाग्ने सम्पूर्ण खर्च आफूले ब्यहोर्ने भएका छन्।

स्थानीय प्रभात निमाविमा अध्ययनरत कक्षा १ देखि ८ कक्षासम्म अध्ययरत १० जना विद्यार्थीलाई छात्रवृत्ति दिँदै पठनपाठनमा लाग्ने सम्पूर्ण खर्चको जिम्मा श्रेष्ठले लिएका हुन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

मंगलबार विद्यालयमा भएको अभिभावक शिक्षकको भेलामा श्रेष्ठले विद्यार्थीको पठनपाठनमा लाग्ने लत्ताकपडा, झोला, शैक्षिक सामग्रीलगायत सम्पूर्ण खर्च ब्योहोर्ने बताए। पठनपाठनमा मन भएका तर विपन्न परिवारका विद्यार्थीलाई आफूले सहयोग गरेको श्रेष्ठको भनाइ छ।

‘हाम्रो पालामा पढ्ने बेलामा कैले कापी किन्ने पैसा हुँदैन थियो त कैले कलम,’ श्रेष्ठले भने,‘पढ्ने रहर हुँदा पनि आर्थिक अभाव हुँदा समस्या थियो। आज त्यही समस्या सम्झेर छात्रवृत्ति उपलब्ध गराएको हुँ।’

आफूहरुले निम्न स्तरको परिवारमा रहेका विद्यार्थीको नाम दिएको र श्रेष्ठले उनीहरुको पठनपाठनमा छात्रवृत्ति उपलब्ध गराएर सहयोग गरेको विद्यालयका प्रधानाध्यापक मोहन चापागाईंले बताए। रासस