बाँकेको नेपालगञ्जमा तीन वर्षअघि भएको चेतन मानन्धरको हत्यामा गुन्डा नाइके रिगल ढकाललाई सर्वस्वसहित जन्मकैदको फैसला भएको छ ।

कगित ‘डन’ रिगलले २०७२ असार २८ गते नेपालगञ्जको धम्बोझीचोक नजिक मानन्धरलाई दिउँसै लखेटी–लखेटी खुँडा प्रहार गरेर हत्या गरेका थिए । घटनामा १५ जना संलग्न भएको किटानी जाहेरी परेकोमा १४ जना कारागारमा छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

जिल्ला न्यायाधीश विष्णु सुवेदीको इजलासले मंगलबार रिगललाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको हो । सुरुमा फरार रहेका ढकालले पछि अदालतमा आत्मसमर्पण गरेका थिए । अहिले रिगल बर्दिया कारागारमा छन् ।

अदालतले अरु चार जनालाई जन्मकैदको फैसला गरेको छ । प्रशान्त गौतम भन्ने प्रेमध्वज खत्री, विशाल भन्ने छविलाल बस्नेत, नवराज खत्री र मोहनलाल खड्कालाई जन्मकैदको फैसला भएको छ ।

सोहनसिंह ढकाललाई १० वर्षको सजाय तोकिएको छ। दीपेन्द्र सिंह भन्‍ने दीपेन्द्र मल्ललाई ५ वर्षको सजाय फैसला भएको छ । अन्य सात जनालाई तीन–तीन वर्षको सजाय तोकिएको छ ।

तीन वर्षको सजाय आदेश हुनेमा माधव नेपाली, विवाद पाठक, हरि वली, प्रितम थापा, मनीष चौलागाइँ, यमबहादुर बुढामगर र केशवबहादुर रोकाय रहेका छन् । रिगललाई भगाउन सहयोग गरेको भनिएका दीपक केसीले सफाई पाएका छन् ।

घटनामा संलग्न १४ जनामध्ये रिगलसहित दुई जना बर्दिया, आठ जना बाँके र चार जना कपिलवस्तु कारागारमा छन् ।नेपालगञ्जको मात्रै नभएर देशकै चर्चित घटना बनेको यसमा दर्जन बढी कानून व्यवसायीले बहस गरेका थिए । रिगलको पक्षमा नेपालगञ्जका साथै काठमाडौंबाट समेत कानून व्यवसायीहरू बहस गर्न आएका थिए ।

रिगल ढकाल नेपालगञ्जका ‘डन’ अर्थात गुण्डा नाइके हुन् । रिगललाई ठूलो संख्याका युवाहरू साथ छ । रिगलको समूह टेण्डर, ठेक्कापट्टामा हात हाल्ने गरेको थियो ।

पहिला रिगलकै साथी थिए, चेतन मानन्धर । पछिल्लो समयमा चेतनले रिगलको साथ छोडेका थिए ।आफनो साथ छोडेकोमा रिगललाई रिस थियो ।

चेतनको हत्या गर्न नेपालगञ्जको एक होटलमा कोठा बुक गरेर रिगलका युवाहरू बसेका थिए । २०७२ असार २८ गते अपरान्ह चेतनलाई कुरा गर्नु छ भनेर धम्बोझीचोक नजिक बोलाइएको थियो । चेतनलाई त्यो समूहले लखेटी–लखेटी खुँडाले हानेर हत्या गरेको बयान प्रत्यक्षदर्शीहरूले दिएका छन् ।

दिउँसै मान्छे काट्ने काम भएपछि बाँकेको सुरक्षा अधिकारीमाथि प्रश्न उठेको थियो । भारतका विभिन्न स्थानमा लुकिछिपी बस्दै आएका रिगलले ईन्काउन्टरमा पर्ने डरले अदात समक्ष आत्मसमर्पण गरेका हुन् । दैनिक नेपाल बाट साभार