आपराधिक कार्यमा संलग्न भएको आशंकामा प्रहरी उपरीक्षक (एसपी) विकास खनाललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

३३ केजी सुन र सनम शाक्य हत्या प्रकरण छानविनका लागि बनाइएको उच्चस्तरीय छानविन समितिले प्रहरी उपरीक्षक खनाललाई प्रहरीले आन्तरिक हिरासतमा लिएर नक्सालस्थित–१ नम्बर गणमा राखेको छ । सोमबार घटनाबारे बयान दिन मकवानपुरबाट बोलाइएका खनाललाई गृह मन्त्रालयको निर्देशनमा मंगलबार राति नियन्त्रणमा लिई हिरासतमा राखिएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

गत चैतमा तस्करीको साढे ३३ केजी सुन गायब भएपछि भरिया सनम शाक्यको अपहरणपछि हत्या भएको थियो । घटनाको विषयमा प्रहरीले गम्भीरतापूर्वक चासो दिएर अनुसन्धान नगरेको भन्दै उजुरी परेपछि प्रहरी मुख्यायलले छुट्टै अनुसन्धान समिति बनाएर छानबिन शुरु गरेको हो । छानबिन कमिटीले इटहरीमा कार्यरत डिएसपी सञ्जय राउतको पनि बयान लिएको थियो । स्रोतका अनुसार राउत भने बयान नसकिंदै गृह मन्त्रालयबाट बेपत्ता भएका थिए ।

३३ किलो सुन तस्करी भएको आशंकामा समितिले अहिलेसम्म २० र जिल्ला प्रहरी कार्यालय मोरङले ५ जनालाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको छ । आइतबार मात्र प्रहरीले पूर्व डिआईजी गोविन्द निरौलालाई पनि बयानपश्चात् नियन्त्रणमा लिएको थियो । प्रहरी उपरीक्षक एसपी विकास खनाललाई प्रहरीले आन्तरिक हिरासतमा लिएर नक्सालस्थित–१ नम्बर गणमा राखेको छ । मंगलबार राति अबेर गृह मन्त्रालयकै अनुमतिमा खनाललाई नियन्त्रणमा लिई हिरासतमा राखिएको हो । उनी सोमबार मात्रै बयानका लागि मकवानपुरबाट काठमाडौं आएका थिए । सुन तस्करीका नाइके गोरे भनिने चुँडामणि उप्रेतीसँग उनको सम्बन्ध देखिएको जनाइएको छ । नियन्त्रणमा लिइएका खनाल एक वर्षअघि त्रिभुवन विमानस्थलमा कार्यरत थिए ।

२३ जनाविरुद्ध मुद्दा

प्रहरीले साढे ३३ किलो सुन प्रकरणमा पक्राउ गरेका २३ जनाविरुद्ध तीन प्रकारका अपराधमा मुद्दा चलाउने भएको छ । मोरङ प्रहरीले उनीहरूविरुद्ध संगठित अपराध, अपहरण र कर्तव्य ज्यान मुद्दामा अनुसन्धानका लागि अदालतबाट म्याद थप गरेको छ । तस्करीको सुन गायब गरेको आरोपमा उर्लाबारी–७ का युवा सनम शाक्यको हत्या भएको थियो । उनको शव १८ फागुनमा उर्लाबारी–१ स्थित जङ्गलमा भेटिएपछि प्रहरी अनुसन्धानबाट सुन प्रकरण बाहिर आएको हो । अरू १५ जना अझै फरार छन् ।

फरारमध्ये पाँच जना मुख्य आरोपी भनिएका चुँडामणि उप्रेती उर्फ गोरेका आफन्त छन् । उप्रेती पनि फरार छन् । प्रहरीले सो काण्डमा संलग्न भनिएका सबै ३८ जनाको सम्पत्ति रोक्का गरेको छ । प्रहरीको निवेदन अनुसार मोरङ अदालतले २६ चैतमै संगठित अपराध निवारण ऐन २०७० को दफा १६ अनुसार आरोपी सबैको बैँक खाता, जग्गालगायत सम्पत्ति रोक्का गर्न अनुमति दिइसकेको छ ।

गोरेविरुद्ध ‘डिफ्युजन नोटिस’

प्रहरीले गायब साढे ३३ किलो सुन प्रकरणमा मोरङ उर्लाबारीका ३५ वर्षीय गोरे भनिने चुँडामणि उप्रेतीलाई मुख्य आरोपी बनाएको छ । उनीविरुद्ध इन्टरपोलमार्फत ‘डिफ्युजन नोटिस’ जारी गरिएको छ । यस्तो नोटिस जारीपछि अभियुक्तलाई अन्तर्राष्ट्रिय रूपमै मोस्ट वान्टेड सूचीमा राखिन्छ । उर्लाबारी–७ पशुपतिटोल घर भएका गोरे भारतीय सेनाका जागिरे थिए । जागिर छाडेर कुवेत गएपछि उनी रहस्यमय तरिकाले रातारात धनी भएका थिए ।

सुन काण्डले तीनको मृत्यु

उर्लाबारी नगरपालिका–७ का सनम शाक्यको गत १८ फागुनमा हत्या भयो । गायब सुन पत्ता लगाउन उनलाई तस्करहरूको गिरोहले करेन्ट लगाएर हत्या गरेको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका लोडर प्रेमलाल चौधरी र अर्का आरोपी सानु बमले प्रहरीको हिरासतमा नै आत्महत्या गरेका छन् ।

-नया पेज बाट