तत्कालीन प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले २०७१ मंसिर २४ गते संसदलाई बरामद भएको सुनबार दिएको जानकारी दिएका दिए । उनले २०६९–७० मा १७ पटकमा गरी ८३ किलो, २०७०–७१ मा ४६ पटकमा गरी ८९ किलो र २०७१–७२ मंसिरसम्म ३५ पटकमा गरी १११ किलो सुन बरामद भएको बताएका थिए ।

माथि उल्लिखित सुन प्रहरीले सूचनामार्फत बरामद परिमाण मात्र हो । निजी क्षेत्रले वार्षिक नौ हजार किलो सुन बिक्री गर्ने भए पनि ६५ सय किलोको मात्र सरकारी तथ्यांकमा उल्लेख छ । वार्षिक तीन हजारदेखि चार हजार किलो सुन कहाँबाट आउँछ ? तत्कालीन सांसदहरूले संसदमा प्रश्न उठाएका थिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

हुन त २०५४ सालतिर एमाले–राप्रपा सरकारका पालामा गाडीका गाडी एयरपोर्टबाट सुन तस्करी हुने गरेको समाचार आएकै हो । त्यसबेला सुन तस्करीमा संलग्न भएको आरोप लागेका अहिले एमालेको उच्च तहमा पुगेका छन् । तत्कालीन उपप्रधानमन्त्री एवं गृहमन्त्री वामदेव गौतम, केशवलाल श्रेष्ठ, योगेश भट्टराई, रूपनारायण श्रेष्ठलगायत सुन तस्करीमा लागेको समाचार आएका थिए । विदेशबाट कम मूल्यमा सुन ल्याउने र चीन, भारतलगायतका देशमा महँगोमा बेच्ने गरेको पुष्टि भइसकेको छ ।

तर, प्रहरीको उच्च नेतृत्वकै सेटिङमा सुन तस्करी हुने गरेको विषय केही समययता खुल्दै जान थालेको छ । अहिले ३३ किलो सुनकाण्डले मुलुकको शान्ति सुरक्षाको जिम्मेवारी लिएको नेपाल प्रहरीको पूरै संगठन बदनाम भएको छ । खासगरी सुनकाण्डमा प्रहरी आईजीपी, डीआईजी, एसएसपी, एसपी, डीएसपीसम्मको संलग्नता रहेको अनुसन्धानबाट खुल्दै आएको छ ।

अहिलेसम्म पूर्वआईजीपी प्रकाश अर्याल, पूर्वडीआईजी गोविन्द निरौला, एसएसपी श्यामबहादुर खत्री, एसपी विकासराज खनाल, डीएसपी सञ्जय राउत मुछिसकेका छन् । निरौला र एसपी खनालसँग बयान लिने क्रम जारी छ । डीएसपी राउत भने बयान दिनुपर्ने डरले फरार भएका छन् । उनलाई प्रहरीको उच्च नेतृत्वले नै फरार गराएको बुझिएको छ ।

प्रहरीका उच्च अधिकृतसँग बयान लिइरहेकाले लहरो तान्दा पहरो जाने निश्चित छ । पूर्वआईजीपी प्रकाश अर्यालकै संलग्नता रहेको देखिएकाले उनी पनि पर्ने बुझिएको छ । तर, अर्याल जेल जानु परे पहिलेदेखि नै सुन तस्करीमा को को संलग्न छन् ? भन्ने पोल खुल्ने भएकाले पूर्वप्रहरी उच्च अधिकृतहरू अहिले तनावमा रहेको बताइन्छ ।

३३ किलो सुनकाण्डमा अहिलेसम्म तीनजनाको हत्या भइसकेको छ । हत्या भएका सबै भरिया मात्र हुन् । सो सुन चुडामणि उप्रेती ‘गोरे’ भन्नेको रहेको बताइन्छ । अहिले उनी नेपालमा छैनन् । मिडिया एनपी बाट साभार